News

Jan 30, 2009

पत्रकार सिंहको हत्यामा मुख्य योजनाकार आफ्नै भाउजू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पत्रकार उमा सिंहको हत्या सम्पत्ति विवाद र पारिवारिक झगडाका कारण गरिएको प्रहरीले दावी गरेको छ । प्रहरीले जनकपुरमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेको हो । प्रहरी उपरीक्षक यादवराज खनालले सम्पत्ति हत्याउने नियतले सिंहको हत्या गरिएका आधार फेला परेको बताउनुभयो ।पत्रकार सिंहको हत्याको मुख्य योजनाकार सिंहकी भाउजू ललितादेवी रहेको स्पष्ट गर्दै उहाँले नेकपा माओवादीका सिरहा जिल्ला क्षेत्र ५ का इन्चार्ज श्रवण यादव, तराइ एकता परिषद्का अध्यक्ष स्वामीजी यादव उर्फ उमेश यादव र नेमलाल पासवान घटनामा प्रयोग भएका व्यक्ति भएको बताउनुभयो ।श्रवणसँग ललितादेवीको आत्मीय सम्बन्ध रहेको र श्रवणले नै योजनाअनुरूप उमाको हत्या गर्नका लागि स्वामीजीलाई एक लाख ५० हजार दिने सहमति कायम गराउनमा भूमिका खेलेको अनुसन्धानबाट थाहा भएको उहाँले जानकारी गराउनुभयो ।प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोइरालाले उमाका पिता र दाइलाई नेकपा माओवादीका कार्यकर्ताद्वारा बेपत्ता गरिएपछि सम्पत्तिको वारेस उमा भएको र उनको विवाह हुने निश्चित भएपछि भाउजूले उमाको हत्या गराउने योजना बनाएर घटना गराएको अनुसन्धानले पुष्टि भएको बताउनुभयो ।पत्रकार सिंहको नाममा १२ कठ्ठा जग्गा रहेको र सो जग्गा ललिताको नाममा गरिदिन सिंहकी आमा सुशीलालाई ललिताले श्रवण र स्वामीजीमार्फत धम्काउन लगाउने गरेको पनि अनुसन्धानबाट थाहा भएको छ । पत्रकार सम्मेलनमा ललिताले घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताइन् ।प्रहरीले सिंहको हत्यामा संलग्न भएको आशङ्कामा ललिता, श्रवण, नेमलाल, अभिषेक सिंह र विमलेश झालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

No comments: