News

Jan 25, 2009

निःशुल्क कन्डम भारतमा लगेर बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाँके/ सरकारी एवं गैरसरकारी संस्थाबाट निःशुल्क वितरण गरिने कन्डम आफूले भारतमा लगेर बिक्री गर्ने गरेको खुलासा एक कन्डम बिक्रेताले गरेका छन् । सेवाग्राहीका रूपमा ती संस्थाबाट कन्डम लिई भारतमा प्रतिगोटा दुई रुपैयाँका दरले बिक्री गर्ने गरेको उनले बताएका छन् ।नेपालगन्ज नाकासँग जोडिएको रूपैडिया घर बताउने १६ वर्षीय सलिमले आफूले लामो समयदेखि नेपालगन्जबाट कन्डम लगेर भारतीय सीमावर्ती गाउँमा बिक्री गर्ने गरेको बताए । उनले नेपालगन्जमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाबाट सजिलै गरी कन्डम पाउने गरेको जानकारी दिए । उनले भने, 'जनस्वास्थ्य, स्वास्थ्य केन्द्र, अस्पताल र यस क्षेत्रमा कार्यरत संघसंस्थामा गएर कन्डम लिन्छु । सबै ठाउँबाट गरेर दैनिक सय गोटाजति जम्मा हुन्छ । कन्डम लगेर सीमावर्ती बजारका घुम्ती, पसलमा बिक्री गर्छु ।'शुक्रबार एक झोला कन्डम जम्मा गरेर रूपैडिया फर्किरहेका सलिमले आफूले कन्डम लैजाँदा कोही कसैले पनि रोकतोक नगरेको बताए । उनले आफूजस्तै अन्य व्यक्तिले पनि सेवाग्राही बनेर कन्डम संकलन गरी भारतका सीमावर्ती गाउँमा बिक्री गर्ने गरेको बताए । उनका अनुसार भारतीय सीमावर्ती गाउँमा सजिलै गरी कन्डम नपाइने गरेकाले व्यवसाय बनेको जानकारी दिए । नेपाल सरकारले यौनरोगबाट बच्न र परिवार नियोजनको अस्थायी साधनका रूपमा नेपालभरिका स्वास्थ्य संस्थामार्फत कन्डम निःशुल्क वितरण गर्दै आएको छ । हेल्थपोस्टलगायतका गरी बाँकेमा ४७ वटा सरकारी संस्थाबाट कन्डम वितरण गरिन्छ । त्यसैगरी, यौनरोग, परिवार नियोजन र सुरक्षित मातृत्वको क्षेत्रमा कार्यरत एक दर्जनभन्दा बढी गैरसरकारी संस्थाले पनि कन्डम निःशुल्क वितरण गर्दै आएका छन् । बाँकेमा वाषिर्क रूपमा लाखौं कन्डम निःशुल्क वितरण हुने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख केहरसिंह गोदारले अव्यवस्थित तरिकाले कन्डमको वितरण गर्नाले यसको दुरुपयोग बढेको स्वीकार गरे । निःशुल्क वितरण गरिएको कन्डम बिक्री गर्न नपाइने पनि उनले बताए ।

No comments: