News

Jan 25, 2009

प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा संबोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । उहाँले अबको एक सातापछि दाइजो प्रथालाई पूर्णतः निषेध गरिने घोषणा गर्नुभएको छ । राष्ट्रका नाममा दिनुभएको सम्बोधनमा प्रधानमन्त्री दाहालले दाइजो दिने र लिने दुवै कानुनत दण्डका भागीदार हुने बताउनुभयो । प्रधानमन्त्रीले सम्पत्तिमा समान अधिकार सुनिश्चित नभएसम्म महिला अधिकार सुनिश्चित हुन नसक्ने भएको बताउँदै भन्नुभयो- यो सरकार घोषणा गर्छ, छोरासरह छोरीलाई अंश दिने कानुन कडाइका साथ तुरुन्तै कार्यान्वयन गरिने छ ।प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभयो- कर्णाली र सुदूरपश्चिम भेग नेपालका अत्यन्तै उपेक्षित भौगोलिक क्षेत्र हुन् । यी क्षेत्रलाई विकासको मूलधारमा समेट्ने ध्येयले कार्यक्रमको विशेष प्याकेज ल्याइदैछ । उक्त प्याकेजमा यी क्षेत्रमा लगानी प्रबर्द्धन गर्ने कार्यमा जोड दिइने छ । उहाँले पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि तत्काल अध्ययन कार्यदल गठन गरिने र काठमाडौंलाई तराइसग जोड्ने द्रुत्तगतिको मार्ग निर्माण कार्य छिट्टै थालिने बताउनुभयो ।बेपत्ता नागरिकको यथार्थ अवस्थाको स्पष्ट चित्र बाहिर ल्याई दोषीलाई कानुनसम्मत कारवाही गरेर दण्डहीनताको संस्कृतिको तेजोबध गर्नका निमित्त छिट्टै बेपत्तासम्बन्धी शक्तिसम्पन्न आयोग गठन गरिनुका साथै द्वन्द्वको कारण हुन गएका विस्थापितको पुनस्थापनसम्बन्धी नयाँ समझदारी भइसकेको र अब सोको कार्यान्वयन प्रक्रिया पनि सुरु गरिने उहाँले जानकारी दिनुभयो । जनयुद्ध र जनआन्दोलनमा दलित समुदायले पुर्‍याएको योगदानको सम्झना गर्दै दलित समुदायको उत्थानका लागि सहिद दिलबहादुर रम्तेलका नाममा दलित शैक्षिक छात्रवृत्ति कोष स्थापना गरिने जानकारी प्रधानमन्त्रीले दिनुभयो ।हरेक गाविसमा दलितको अनिवार्य सहभागितामा अधिकारसम्पन्न छुवाछूत अपराध निगरानी केन्द्र गठन गरिने र छुट्टै कानुनबाट राष्ट्रिय दलित अधिकार आयोग गठन गर्ने तयारी भइसकेको बताउँदै प्रधानमन्त्रीले छुवाछूत प्रथा र दलित वा विपन्न समुदायका अशक्त महिलालाई बोक्सीको आरोप लगाएर अपमान गर्ने र यातना दिनेजस्ता अनेकौं सामाजिक र साँस्कृतिक कुप्रथालाई उन्मूलन गर्नका निम्ति सामाजिक-सांस्कृतिक जागरण अभियानमा सरीक हुन मुलुकभरिका संवेदनशील तथा सचेत संस्कृतिकर्मीलाई आग्रह गर्नुभयो ।

No comments: