News

Jan 25, 2009

नयाँ पार्टीको तयारीका लागि मातृका चीनतिर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ पार्टी गठनको तयारीमा रहेका नेता मातृकाप्रसाद यादव राजनीतिक परामर्शका लागि शनिबार चीन भ्रमणमा गएका छन् । नयाँ कम्युनिस्ट पार्टी गठनको तयारीमा रहेका नेता यादव चिनियाँ कम्युनिस्ट पार्टीसँग परामर्श तथा राजनीतिक छलफलका लागि चीन गएका हुन् । फागुनको पहिलो साता पार्टी घोषणा गर्ने तयारीमा रहेका यादवको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यादवका निजी सचिव विक्रान्तले दिएको जानकारीअनुसार शनिबार बिहान ९ बजे चाइना एयरको उडानबाट यादव चीन भ्रमणमा गएका हुन् । 'उहाँ पाँच-सात दिनमा र्फकनुहुन्छ,' विक्रान्तले नयाँ पत्रिकासँग भने । चीनबाट फर्केपछि यादवले पार्टी घोषणाको तयारी गर्नेछन् । स्वास्थ्य उपचारका लागि थाइल्यान्ड गएका नेता यादव पाँच दिनअघि मात्रै स्वदेश फर्केका थिए । स्वदेश आएपछि यादव नयाँ पार्टीको सांगठनिक तयारीका लागि पश्चिम तराईको नवलपरासी, कपिलवस्तु र रूपन्देही पुगेका थिए । माओवादीको अबध उपराज्य समितिमा कार्यकर्तासँग बैठक गरेर यादव शुक्रबार साँझ काठमाडौं फर्केका थिए । 'फागुन १ गते पार्टी घोषणा गर्ने सम्भावना छ,' यादवले गठन गर्न लागेको पार्टीका एक नेताले नयाँ पत्रिकासँग भने, 'जनयुद्ध सुरु भएकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारी भइरहेको छ ।' नाम नछाप्ने सर्तमा ती नेताले बताएअनुसार नेकपा माओवादीलाई नै पुनर्गठन गर्ने पनि सम्भावना छ । बाराका स्थानीय सञ्चारकर्मीसँग टेलिफोनमा कुरा गर्दै यादवले प्रचण्डको नेतृत्वमा रहेको एकीकृत नेकपा माओवादीसँग आफ्नो सम्बन्ध नरहेको बताएका थिए । यादव हाल एकीकृत माओवादीका पोलिटब्युरो सदस्य छन् । विगतमा मिथिला राज्य समिति इन्चार्ज रहेका यादवलाई एकीकृत माओवादीले कुनै कार्यकारी जिम्मेवारी दिएको छैन । माओवादी र एकताकेन्द्र मसालबीच भएको एकतापछि यादव केन्द्रीय समिति एवं पोलिटब्युरोको बैठकमा सहभागी भएनन् । उनले एक साताअघि नै नयाँ पार्टी गठन गर्न लागेको नयाँ पत्रिकामार्फत सार्वजनिक गरेका थिए । माओवादीले १६ र १७ माघमा मधेस समस्याका विषयमा बृहत् गोष्ठी आयोजना गर्न लागेका वेला यादवले भने मधेसलाई सम्बोधन गर्ने गरी पार्टी गठन गर्ने तयारी गरेका छन् । 'तर, क्षेत्रीयस्तरको पार्टी होइन, राष्ट्रियस्तरको पार्टी गठन गर्ने तयारीमा उहाँ (यादव) जुट्नुभएको छ,' उनका सचिव विक्रान्तले भने ।

No comments: