News

Jan 24, 2009

दोस्रो विश्वयुद्धताकाका सयवटा बम फेला परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मनिला/ फिलिपिन्सको राजधानी मनिलास्थित अमेरिकी राजदूतावास परिसरभित्र दोस्रो विश्वयुद्धताकाका झन्डै सयवटा बम फेला परेको प्रहरीले शनिबार जनाएको छ । भवननिर्माण कार्यमा संलग्न मजदुरहरूले जमिन खनिरहेको समय ती बम भेटिएका हुन् । दोस्रो विश्वयुद्धपछि बेवारिसे अवस्थामा छाडिएका ती बमबाट तत्काल कुनै खतरा भने नभएको प्रहरीले बताएको छ । अत्यधिक पानीले सडिसकेका मोर्टार बम र तोपका सेलहरू निष्क्रिय पार्न सुरक्षा दस्ताले उत्तरी फिलिपिन्स लगेको वरिष्ठ प्रहरी अधिकारी पाब्लो फ्रान्सिस्को बालागतासले बताए । ती गोलाबारुद अमेरिकाको वा जापान कुन मुलुकको हो भन्ने तत्काल स्पष्ट भइनसकेको अधिकारीले बताए । अमेरिकी राजदूतावासका प्रवक्ता रेवेका थोम्पसनले राजदूतावासनजिकै कार्यालयका लागि आवश्यक भवन निर्माणका मजदुरले जमिन खनेको वेला ती बम भेटिएको बताए । बम निष्क्रिय गर्ने प्रहरीको टोलीले बेवारिसे बम हटाउनुअघि त्यहाँ कार्यरत राजदूतावासका कर्मचारी र निर्माण कार्यमा संलग्न मजदुरलाई अन्यत्र सुरक्षित क्षेत्रतर्फ सारिएको उनले बताए । सन् १९४५ मा फिलिपिन्स मुक्तिका लागि भएको आन्दोलनका वेला राजधानी मनिलामा अमेरिका र जापानी सेनाबीच भीषण संघर्ष भएको थियो ।

No comments: