News

Jan 30, 2009

संक्रमण रोक्न औषधि अभावले जिउँदै गाडिए कुखुरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्लाही/ कुखुरा मार्ने र संक्रमण रोक्न प्रयोग गरिने स्प्रे औषधि अभावमा जिउँदा कुखुरा गाडिएको छ । जिल्लाका स्थानीय पशु स्वास्थ्य, उप-केन्द्रमा आवश्यक औषधि तथा सामग्री नभएकाले जिउँदा कुखुरा गाडिएको हो ।बर्डफ्लु आशंकामा मुलुकभर शंकास्पद पक्षी र पक्षीजन्य सामग्रीमा निगरानी गरिए पनि जिल्लामा सरकारी निकाय स्रोत-साधनविहीन रहेका छन् । आवश्यक सामग्री अभावले जोखिमपूर्ण रुपमा पक्षी नष्ट भइरहेको स्थानीय कुखुरा व्यवसायी वेदप्रसाद उप्रेतीले बताए ।न्यूनतम औषधि नभएकाले बिहीबार हरिवनमा बेवारिसे अवस्थामा भेटिएका तीन दर्जनभन्दा बढी भारतीय चल्ला जिउँदै खाल्डोमा गाडिएको छ । पशु-उपकेन्द्र इन्चार्ज प्रभुकान्त झाले फर्मालिनलगायत विषादी चाहिने भए पनि जिल्ला पशु कार्यालयले औषधि उपलब्ध नगराएको जानकारी दिए । जिल्ला पशु सेवा कार्यालयका डा.सुशील अधिकारी पूर्णरुपमा भारतीय क्षेत्रबाट आयात नरोकिएको स्विकार्छन् । 'पहिलेभन्दा केही मात्रामा सुधार भए पनि खुला सीमाका कारण पूर्ण नियन्त्रणमा कठिनाइ भएको हो', उनले भने । 'प्रहरीको पहुँच सबै स्थानमा छैन, सर्वसाधारण बर्डफ्लुबारे अझै अनभिज्ञ छन्, त्यसैले कुखुरा र कुखुरापालनमा चाहिने सामग्री खुला रुपमा आएको छ,' उनले भने । उत्तरी क्षेत्रमा भारतीय चल्ला बिक्री निर्वाध हुनुले सीमामा नियन्त्रण कमजोर भएको पशु स्वास्थ्य कार्यकर्ता रामप्रसाद घिमिरेको भनाइ छ । अखिल नेपाल किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले जिउँदै कुखुरा गाड्नु अमानवीय भए पनि बर्डफ्लु फैलिने त्रासकै कारण कुखुरा गाड्न बाध्य भएको गुनासो गरे ।

No comments: