News

Jan 23, 2009

पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन दरबार छाड्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र स्थापनासँगै नागार्जुन सरेका पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन दरबार छाड्ने तयारी गरिरहेका छन् । नागार्जुन जंगललाई राष्ट्रिय निकुन्ज बनाउने सरकारी निर्णय र सरकारले नागार्जुनमा बस्न दिएको ६ महिने म्याद सकिएका कारण उनले आफ्नो निवास परिवर्तन गर्ने तयारी गरेका हुन् । नागार्जुन दरबार छाडेर पूर्वराजा ज्ञानेन्द्र केही समयका लागि महाराजगञ्जस्थित निर्मल निवासमा बस्नेछन् भने त्यसपछि उनी सोल्टिमोडस्थित हिमालय हाइटमा स्थायी बसोबास गर्नेछन् ।ज्ञानेन्द्रले नागार्जुन दरबार छोड्न केही दिन लाग्ने स्रोतले जनाएको छ । ज्ञानेन्द्रको इच्छाबमोजिम हिमालय हाइटमा कोरियन दूतावास बसेको घर पनि खाली गरिएको छ । 'हिमालय हाइटमा फर्निसिङ भइसकेको छ,' निर्मल निवास स्राेतले नयाँ पत्रिकासँग भन्यो, 'तर उहाँ नागार्जुनपछि केही महिना भने यतै निर्मल निवासमा बस्नुहुनेछ ।' राजा हुनुपूर्व बस्दै आएको निर्मल निवासको रेखदेखसमेत नहुने तथा हिमालय हाइटमा सुरक्षाको समस्या पर्ने भन्दै सहयोगीहरूले ज्ञानेन्द्रलाई केही महिना निर्मल निवासमै बस्न सल्लाह दिएका छन् । स्रोतका अनुसार ज्ञानेन्द्रले छोरा पारसको परिवारलाई निर्मल निवासमै व्यवस्थापन गरेर आफू हिमालय हाइटमा बस्ने चाहना व्यक्त गरेका छन् । हाल पारस सिंगापुरमा छन् भने बैंकक गएकी हिमानी शाह बुधबार दिउँसो मात्रै फर्केकी छिन् । अहिले पारसबाहेक ज्ञानेन्द्रका परिवारका सबै सदस्य निर्मल निवासमा बसेका छन् । गणतन्त्र घोषणापछि सरकारले ६ महिनाभित्र अर्को स्थानमा सर्ने गरी पूर्वराजालाई नागार्जुन दरबारमा बस्ने व्यवस्था गरेको थियो । पछि सरकारले नागार्जुन वनसहित त्यहाँको दरबारलाई पनि निकुन्ज बनाउने निर्णय गरेको थियो ।वन मन्त्रालयका प्रवक्ता अन्नपूर्ण दासले शुक्रबार नागार्जुन वनलाई निकुन्ज व्यवस्थापनलाई हस्तान्तरण गर्न लागेको जानकारी दिए । नागार्जुन निकुन्ज बनेपछि त्यहाँ पूर्वराजाले बस्न नमिल्ने उनको भनाइ छ । 'तर क्याबिनेटले यसबारेमा निर्णय गर्ला,' उनले भने ।

No comments: