News

Jan 21, 2009

सीमाक्षेत्रबाट अवैध रूपमा मानवअंगको तस्करी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापाको सीमा क्षेत्रबाट अवैध रूपमा मानवअंग तस्करी हुने गरेको छ । पूर्वीनाका काँकडभिट्टाबाट केही समययता मानवअंगको अवैध ओसार-पसार बढेको प्रहरीले पनि स्विकारेको छ । तर, नियन्त्रण हुन सकेको छैन । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार सीमाक्षेत्रबाट अवैध रूपमा मानवअंगको तस्करी भइरहेको छ । भारतीय सीमावर्ती पानीट्यांकी नाकाबाट मानवअंग नेपाल भित्रिने गरेको हो । जातीय संस्कारअनुसार जमिनमुनि गाडिएका र हत्या गरेर बेवारिसे अवस्थामा फालिएका शवबाट मानवका विभिन्न अंग निकालेर तस्करले नेपालमा अवैध रूपमा बिक्री गर्दै आएका छन् । खुला सिमानाको फाइदा उठाउँदै एक महिनायता तस्करले मानवअंग नेपाल भित्र्याउने क्रमलाई तीव्र बनाएको प्रहरी निरीक्षक यादवराज ढकालले बताए । 'रातारात भारतबाट मानवखप्पर र नलीका हाडहरू भित्रिने गरेको जानकारी पाएका छौँ,' ढकालले नयाँ पत्रिकासँग भने, 'यसमा ठूलो गिरोह संलग्न छ ।' मानवअंगको अवैध आयात बढेपछि सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । तर, सुरक्षाकर्मी बर्डपmलु नियन्त्रण अभियानमा लागेको मौका छोपेर तस्करले सोमबार राति ठूलो परिमाणमा मानवअंग नेपाल भित्र्याएको स्रोतले जनाएको छ । झापाको नकलबन्दा क्षेत्रबाट तस्करले मानवअंग नेपाल भित्र्याएका हुन् । लागूऔषध बनाउन मानवअंगको तस्करी गरिएको प्रहरीको अनुमान छ । 'हिरोइन र चरेस बनाउन यसको प्रयोग हुने गरेको सुनेका छौँ,' प्रहरी निरीक्षक ढकालले भने, 'बौद्ध धर्मावलम्बीले समेत मानवखप्पर र नलीहाडको प्रयोग गर्ने गरेका छन् ।' उनले नेपाल भित्र्याउन लागिएको अवस्थामा यसअघि प्रहरीले पटक-पटक मानवअंग बरामद गरेको जानकारीसमेत दिए । पछिल्लोपटक सशस्त्र प्रहरीको मेची भन्सार राजस्व गस्तीटोलीले ठूलो परिमाणमा मानवखप्पर र नलीहाड बरामद गरेको ढकालले बताए । 'मानवअंग समातिए पनि तस्करीमा संलग्नलाई भने पक्राउ गर्न सकिएको छैन,' उनले भने, 'तस्करीमा संलग्नको खोजीलाई प्रहरीले तीव्रता दिएको छ ।' एक साताअघि मात्र प्रहरी गस्तीटोलीले झापाको मेचीनगर-१० मेचीडाँडा पूर्वबाट एक सय ६८ थान मानवखप्पर र आठ थान नलीहाड बरामद गरेको थियो । ब्यागभित्र साइकलमा बोकेर भारतीय क्षेत्रबाट नेपाल भित्र्याउँदै गर्दा सो परिमाणको मानवअंग बरामद भएको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक समिक महर्जनको नेतृत्वमा खटिएको गस्तीटोलीले मेचीखोलाको बगरबाट मध्यरातमा ती मानवअंग बरामद गरेको थियो । गस्तीटोलीलाई देखेर तस्करीमा संलग्न व्यक्ति भागेको प्रहरीले जनाएको छ । बरामद मानवअंग आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ । यसअघि पनि तस्करी गरेर काठमाडौ लैजान लागिएको अवस्थामा १४ पुसमा मानवअंग बरामद भएको थियो । झापाको काँकडभिट्टा बसपार्कबाट चेकजाँचका क्रममा १७ थान मानवखप्पर, सात थान नलीहाड र २५ थान हाड बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार 'सेते भाइ काठमाडौ' लेखिएको कार्टुनभित्र ती मानवअंग फेलापारेको हो ।

No comments: