News

Jan 29, 2009

पैसासँग बच्चा साटिन्छ छोरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५० वषीया महबुबाका चार छोरा छन् । तर, सधैं उनलाई छोरीको चाहना हुन्थ्यो । छोरीको चाहना पूरा गर्न उनले सजिलो उपाय रोजेकी छिन्- छोरी किन्ने । धर्मपुत्री ग्रहण गर्न जटिल प्रक्रियाबाट बच्न उनले छोरी किनेकी हुन् । उनी भन्छिन्, 'एउटा अस्पतालमा एक महिलाले नवजात छोरी बेच्ने बताएकी थिइन् । म तुरुन्तै त्यहाँ गएँ ।' नवजात छोरी बेच्ने आमाका पहिले नै थुपै्र थिए । छैटौँ बच्चाको पालनपोषण गर्न उनी असमर्थ थिइन् । त्यसैले उनले महबुबालाई एक सय अमेरिकी डलरमा नवजात छोरी बेचिन् । महबुबाले किनेकी छोरी अहिले १० वर्षकी भइसकिन् । ताजिकिस्तानमा नवजात शिशुको किनबेच सामान्य घटना हुन् । नवजात शिशुको किनबेच प्रायः अस्पतालमा हुने गर्छन् । कयौँ आमाहरू शिशुलाई अस्पतालमै छोडेर हिँड्छन् । एक ताजिकिस्तानी नर्सका अनुसार एउटा अस्पतालमा एक आमाले मृत शिशु जन्माइन् । चिकित्सकले ती महिलालाई अर्का अस्पतालबाट जीवित शिशु ल्याएर दिए । यस घटनामा पैसाको कारोबारबारेमा आफू अनभिज्ञ भएको उनी बताउँछिन् । नर्स भन्छिन्, 'चिकित्सकले त ती महिलालाई सहयोग गर्न चाहेका मात्र हुन् ।' २००८ मा बच्चा किनबेचका १३ घटना सार्वजनिक भए । तर, यस्ता किनबेचका मामिलाको संख्या कयौँ गुणा ज्यादा भएको बताइएको छ । तुरसुनजोदा गाउँकी ४० वर्ष काटेकी महिलाविरुद्ध आफ्नै छोरालाई दुई सय डलरमा बिक्री गरेको आरोप लागेको छ । उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनी जेलबाहिर नै छिन् । यी महिला पछिल्लो २० वर्षदेखि एक प्रसूति अस्पतालमा काम गरिरहेकी छिन् । गृह मन्त्रालयका मानव तस्करी मामिला हेरिरहेका अजिमजान इब्रागिमोव भन्छन्, 'बच्चाको तस्करी एक जटिल समस्या हो । यो समस्या अझ बढ्दो रूपमा छ ।' उनका अनुसार सन्तान नभएका दम्पतीले बच्चा किन्छन् । बच्चाको किनबेच अपराध भएको बारे ती दम्पती अनभिज्ञ भएको बताउँछन् इब्रागिमोव । अविवाहित आमाले प्रायः बच्चा बेच्ने गरेको उनी बताउँछन् । 'तर , कहिलेकाहीँ घरमा धेरै सन्तान भएका विवाहित आमाले पनि सन्तान बेच्छन्,' उनी भन्छन् । मध्यएसियामा अवस्थित ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र मानिन्छ । अधिकांश पुरुषहरू कामको खोजीमा विदेश गएका हुन्छन् । परिवारको हेरविचारको जिम्मा महिलाको काँधमा रहेको छ । सामाजिक कार्यकर्ता मोहम्मद पिरनाजारोवा भन्छिन्, 'हाम्रो समाजमा पुरुषहरू कामको खोजीमा विदेश जानु नै महिलाको सबैभन्दा ठूलो समस्या हो,' उनी भन्छिन्, 'केही पुरुषले आफ्नो परिवारका लागि पैसा पठाउँछन्, तर कयौँ पुरुष विदेश गएपछि त्यतै भुल्छन् ।' आर्थिक अवस्था नाजुक भएपछि बच्चासँग पैसा साट्नु ताजिकिस्तानी आमाको यथार्थ भएको छ ।

No comments: