News

Jan 21, 2009

सभासद् बबन सिंह तारेखमा रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगन्ज, माघ ८ - हत्या अभियोगमा पाँच दिनदेखि प्रहरी नियन्त्रणमा रहेका सभासद् बबन सिंह अदालतको आदेशमा बुधबार तारेखमा रिहा भएका छन् । पर्सा जिल्ला अदालतले उनलाई साधारण तारेखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो । व्यवसायी जटाशंकर साहको हत्या गर्ने आदेश दिनुका साथै राजेश क्यालको हत्यामा पनि संलग्न रहेको अभियोगमा उनीमाथि बुधबार मुद्दा दायर गरिएको थियो । अर्का अभियुक्त फूलहसन अन्सारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको उक्त आदेश आउनासाथ अदालतबाहिर एकत्रित ठूलो समूहले सिंहको पक्षमा नाराबाजी गरेको थियो । आदेश हुनु आधा घन्टा अघिदेखि उनलाई लैजान गाडीसहित ठूलो समूह अदालतबाहिर कुरिररहेको थियो । उनलाई अबिर जात्रा गरेर सहर परिक्रमा गराएका थिए । समूहले 'बबन सिंह जिन्दावाद' का साथै 'न्यायाधीश जिन्दावाद' को नारा लगाएको थियो । जुलुसको अग्रपंक्तिमा कांग्रेस कार्यकर्ता थिए । पाँच दिनअघि पक्राउ सिंहले एक रात प्रहरी हिरासतमा बिताएर बाँकी समय नारायणी उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा बिताएका थिए । अदालतमा हाजिर गर्ने बेला अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । यसअघि आइतबार अनुसन्धानका लागि १५ दिन हिरासतमा राख्ने म्याद माग्दै प्रहरीले उपस्थित गराएकामा अदालतले तीन दिनको अनुमति दिएको थियो । जिल्ला सरकारी न्यायाधिवक्ता रामकुमार थापाले अभियुक्त फूलहसन अन्सारीले सिंहकै आदेशमा साहलाई गोली प्रहार गरेको स्विकारेका कारण पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए । क्यालको हत्या पनि सभासद्कै अंगरक्षक मिन्टु सिंहको योजनाअनुरूप भएको देखिएकाले थुनामा राख्र कारबाही चलाउनुपर्छ भन्ने सरकार पक्षको दाबी थियो ।

No comments: