लिम्बुवान गौतम बुद्ध र जेसस् क्राइस्ट जन्मनुभन्दा धैरै सय वर्षपहिले स्थापना भएको प्राचीन भू-राज्य हो । हाल आधुनिक नेपाल अर्न्तर्गत मेची नदी पश्चिम, अरुण-सप्तकाशी नदी पूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्ला भित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । मानव प्राणीहरुको बसाइँ-सराइँ गरिरहने चलन भएअनुसार लिम्बुवान भूमिमा गैर लिम्बूहरु बाहिर विभिन्न स्थानहरुबाट विभिन्न कालखण्डहरुमा बसाइँ सरिआएका मात्र हुन् । यसरी बसाइँ सरी आउनेहरुमध्येमा कोचहरु पनि एक हुन् । जसरी लिम्बूहरु आफ्नो आदिम भूमि लिम्बुवानबाट बसाइँ सरेर भारतको आसाम, नागाल्याण्ड आदि राज्यहरुमा बसोबास गरेका छन् । बसोबास गरेको त्यस स्थानको नागरिक भएको हैसियतले नागरिकहरुले समान रुपमा पाउने समान नागरिक अधिकारहरु समान रुपमा उपभोग गर्न पाउँछन् । त्यहाँ लिम्बूहरुले लिम्बू भाषा, धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, सम्बर्धन र विकास गर्न पाउँछन् तर लिम्बुवान नामको राज्य खोज्न पाउँदैनन् । जतिसुकै ठूलो संख्या भएपनि पाउँदैनन् । त्यसरी नै कोचहरुको पनि आदिम भूमि भारतको पश्चिम बंगाल राज्यको टिष्टा नदी पूर्वको कोच विहार र त्यही कोच विहारकासंगै जोडिएको आसामको पश्चिम भाग हो र त्यहीबाट कोचहरु लिम्बूवानमा बसाइँ सरिआएका हुन् । लिम्बूवानमा बसाइँ सरिआएको लिम्बुवान नागरिक भएको हैसियतले सबै नागरिकहरुले समान रुपमा पाउँने समान नागरिक अधिकारहरु समान उपभोग गर्न पाउँछन् । उनीहरुले कोच भाषा, धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, सर्म्बर्धन र विकास गर्न पाउँछन् । तर कोचिला राज्य बनाउन पाउँदैनन् । कुनै पनि जातजातिहरुले आफू आदिवासी भएको थातथलोमा बाहेक अर्को आदिवासहिरुको थातथलोमा कदाचित राज्य खोज्न पाउँदैनन् । सेन र शाहको हकमा यो लिम्बुवान भूमिमा स्वयम लिम्बूहरुले नै सेनलाई एक कालखण्डमा थपनाको रुपमा मात्र ल्याएका थिए भने पृथ्वीनारायण शाह सन्धि-सम्झौता अनुसार मात्र आएका थिए । इति सम्वत १८३१ को लालमोहर अनुसार लिम्बुवान नेपालको सह-राज्य हो, नेपाल अर्न्तर्गत एक विशिष्ट राज्य हो । यो लालमोहर आवधिक सन्धि नभएर कहिल्यै अवधि समाप्त नहुने अनावधिक सन्धि हो । कहिल्यै खारेज नहुने अजरत सन्धि हो । र, यस धर्तीमा मानव अस्थित्व रहेसम्म कायम रहिरहने जिरबत सन्धि हो । मधेसको हकमा मधेस त जनबोलीमा बालिने जनबोली मात्र हो मधेसको कुनै ऐतिहासिक-प्रमाणित दस्तावेज छैन । मधेस 'मध्यदेश' शब्दको अपभ्रंश शब्द हो र यो मध्यदेश भारतमा पर्छ । लिम्बुवानको झापा, मोरङ र सुनसरी जिल्लामा पर्दैन, छैन । विराटको हकमा भारतको राजस्थान राज्यको जयपुर जिल्लामा अवस्थित एउटा सानो प्राचीन विराट राज्य हो । प्राचीन विराट राज्य विराट राजाको राज्य थियो । लिम्बुवानको मोरङमा विराट राज्य छैन । लिम्बुवान र खम्बुवानको हकमा लिम्बुवान र खम्बुवान एकल किरात राष्ट्र राज्यबाट अलग भएर बनेको नभइ भिन्न भिन्न समयकालखण्डमा आ-आफ्नै किसिमले स्थापना भएका बिलकुल अलग अलग स्वतन्त्र तथा छिमेकी मित्र राज्यहरु हुन् । अरुण-सप्तकाशी नदी पूर्व लिम्बूहरुले लिम्बुवान आफ्नै बल पौरखले आदिमकालमा स्थापना गरेको आदिम भूमि हो । त्यसकारण लिम्बुवान स्थापना र संरक्षण गर्नुमा लिम्बू बाहेक अरु कसैको पनि योगदान छैन । लिम्बुवानको मित्र राष्ट्र तिब्बतको दलाइ लामाले हाङ विद्याचन्द्र राय लिम्बू (वि. सं. १६६६- १७२९) को पालामा तिब्बती पात्रोको मिति आगो बज्रसाल १० महिना १३ तारिखमा दिएको लालमोहर अनुसार लिम्बुवानको मोरङ प्रदेश भागसुमसम्म हो र यो हाल भारतमा पर्छ । त्यसैगरी भारतको इस्फोरिया नवाव राजाको सेनापति आमत खाँले मुस्लिम सम्बत ११२५ मा दिएको लालमोहर अनुसार लिम्बुवानको मोरङ प्रदेशको सिमाना टक्सोगञ्ज हो र यो पनि हाल भारतमा नै पर्छ । उपरोक्त लालमोहरहरुले दिएको प्रमाणहरु अनुसार लिम्बुवान भारतसम्म पर्छ र अझ प्रमाणहरु खाज्दै गएमा बंगलादेशसम्म पुग्न सक्छ भने अरुण-सप्तकोशी नदी पूर्वका सम्पूर्ण क्षेत्र नपर्ने त कुरै भएन । लिम्बुवानको उत्तर-पश्चिम खण्ड चैनपुर-संखुवासभामा दोश्रो गोरखा-लिम्बू युद्धमा लिम्बू सेनापति काङसोरे राय लिम्बूले शहिद हुनु परेको थियो । लिम्बुवानको दक्षिण-पश्चिम खण्ड केन्द्रीय राजधानी मोरङ-विजयपुरका अन्तिम राजा हाङ बुद्धिकर्ण राय लिम्बूले पनि मोरङ-विजयपुरका लागि शहिद हुनु परेको थियो । अरु पचासी जना लिम्बू सेनाहरुले पनि विजयपुरमै शहिद हुनु परेको थियो । इस्फोरिया नवाव राजाका मुसलमान सेनाहरुसँग युद्ध हुँदा पनि धेरै लिम्बू सेनाहरुले शहिद हुनु परेको थियो । लिम्बुवान आदिवासी लिम्बूहरुको रगत र पसिनाले सिँचिएको भूमि हो । लिम्बुवानको लागि लिम्बूहरु बाहेक अरु कोही कसैले पनि रगत पसिना बगाएर कहिले दुःख कष्ट गरेको छ ? प्रमाण छ ? छैन । लिम्बुवान लिम्बूहरुले रगत र पसिना बगाएर जोगाएको आदिम भूमि हो । अहिले आएर कोचिला, विराट र मधेश आदि नामको राज्य कुन आधारबाट लिम्बुवान भूमिमा प्रस्ताव ल्याइएको हो - प्रमाण दिनु पर्यो । लिम्बुवानले कसैको एक इञ्च भूमि मिचेको छैन । मिच्ने पनि छैन । मिच्न दिने पनि छैन । कसैले कसैको गोजिको श्रीसम्पति लिम्बुवानलाई दिनु परेको पनि छैन । अनि अरुलाई के को टाउँको दुखाइ ? कुनै पनि दललाई भोटका लागि लिम्बुवानको कुनै पनि भाग वा क्षेत्रलाई बेच्ने अधिकार छैन । एमाओवादीलाई लिम्बुवानको झापा, मोरङ र सुनसरीलाई भोटका लागि कोचलाई कोचिला भनेर बेच्ने अधिकार छैन । एमालेलाई पनि विराटको नाममा र मधेसी जनधिकार फोरमलाई मधेसको नाममा लिम्बुवानको झापा, मोरङ र सुनसरीलाई भोटका लागि बेच्ने अधिकार छैन । स्वयम लिम्बूहरुलाई पनि बेच्ने अधिकार छैन । कसैलाई पनि छैन । राज्य बन्नका लागि चाहिने मूल आधारहरु भनेको ऐतिहासिकता, ऐतिहासिकता अनुसारको भौगोलिकता, ऐतिहासिक-भौगोलिक निरन्तरता र ऐतिहासिक प्रमाणहरु हुन् । माथि उल्लेखित सबै आधारहरु लिम्बुवानसँग छ । माथिका बाहेक लिम्बुवानसँग अन्य आवश्यक थुप्रै आधारहरु पनि छन् । ती आधारहरुमा भौतिक पूर्वाधार, औधोगिक व्यवसायिक सुगमता, पर्याप्त भौगोलिकता आदि । अन्य राज्यहरुको तुलनामा लिम्बुवानको ऐतिहासिक तथा भौगालिक पृष्ठभूमि फरक भएकोले माथि उल्लेखित आधारहरु बाहेक संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले राज्यका लागि तयार पारेका विभिन्न आधारहरु तात्विक रुपमा अष्पष्ट र द्वैध अर्थ लाग्ने भएकोले ती आधारहरु लिम्बुवानको हकमा लागू हुन सक्दैनन । संविधानसभाको राज्य पनःसंरचना तथा राज्यशक्तिको बाँडफँड समितिले १४ प्रदेश पारित गर्दा अरुण-सप्तकोशी नदी पूर्वको साविक लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ, सुनसरी र प्राचीन चैनपुर थुम-संखुवासभा जिल्ल्लालाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोमा हाम्रो घोर आपति रहेको छ । तर्सथ तत्काल सच्याई लिम्बुवानलाई साविक अवस्थामा राख्न सम्बन्धित निकायहरुलाई हामी जोडदार अनुरोध गर्दछौं । साथै यो अनुरोधलाई समान्य नठान्न पनि अनुरो गर्दछौं । लिम्बुवानको यो विखण्डन गराइले हामी राष्ट्रवादीहरुको, राष्ट्रिय अखण्डतावादी प्रजातन्त्रवादीहरुको सोचमाथि ठूलो चोट पुग्न गएको छ । हामी राष्ट्रवादीहरु नेपालको राष्ट्रिय अखण्डता,अभिभाज्यता र अक्षुणता राख्न प्रतिबद्ध हुनका साथै अखण्ड नेपालभित्र अरुण-सप्तकोशी नदी पूर्वको सम्पूर्ण साविक लिम्बुवानलाई पनि अखण्ड राख्न त्यतिकै प्रतिबद्ध छौं । जसरी नेपाललाई अखण्ड राख्न जति आवश्क हुन्छ त्यति नै नेपालभित्र साविक लिम्बुवानलाई अखण्ड राख्न पनि आवश्यक हुन्छ । आधुनिक नेपाल र लिम्बुवानको नाम तथा स्थपनाकाल आकाश-जमिनको फरक छ । नेपाल १८ औं शताब्दीमा मात्र बनेको राज्य हो भने लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सय वर्षपहिले स्थापित भूमि नाम हो । लिम्बुवान भर्खरै राखिएको नाम हुँदैहोइन । साढे दुइसय वर्षअघि मात्र स्थापित भएको आधुनिक नेपाललाई प्राचीन साविक लिम्बुवानलाई विखण्डन गर्ने अधिकार छैन । त्यसकारण तु सच्याउँन फेरी पनि अनुरोध गर्दछौं । यदि नसच्याई लिम्बुवानलाई विखण्डन गर्ने षड्यन्त्र गरिन्छ भने १८३१ को सन्धि अनुसार नेपालबाट लिम्बुवान पनि वैधानिक रुपमा अलग भई स्वतन्त्र हुन बाध्य हुनेछ । अतः हामी नेपालको राष्ट्रिय अखण्डतावादी तथा गणतान्त्रिक प्रजातन्त्रवादीहरुको आत्मामाथि कुनै पनि किसिमको चोट नपुर्याउन सम्बन्धित निकायहरुलाई जोडदार अनुराध गर्दछौं ।
............................
अध्यक्ष
प्रकाश यक्सो
सचिव
श्री देबेन्द्र कुमार शेर्मा
लिम्बुवान मुक्ती मोर्चा शाखा, हङकङ
No comments:
Post a Comment