लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अवैधरुपमा तिब्बत निकासी गर्ने क्रममा जफत गरिएका रक्तचन्दन टेन्डरमार्फत बिक्रीप्रक्रिया अगाडि बढाउन सरकारले सरोकारवाला निकायलाई निर्देशन दिएको छ। तीन वर्षअघि भारतबाट नेपालको बाटो हुँदै अवैधरुपमा तिब्बत निकासी हुने क्रममा बरामद गरिएका रक्तचन्दन बेबारिसे अवस्थामा रहेको भन्दै प्रधानमन्त्री माधवकुमार नेपालले वन मन्त्रालयलाई रक्तचन्दन बिक्री गर्न आग्रह गर्नुभएको थियो। उहाँले सो अवसरमा प्रतिकेजी १ हजार ५ सय रुपियाँमा रक्तचन्दन बेच्न निर्देशन दिनुभएको थियो।सरकारले विभिन्न समयमा जफत गरिएको रक्तचन्दन टेन्डरमार्फत बिक्री गर्ने बताए पनि साइटिस सन्धिअनुसार जुन देशबाट रक्तचन्दन आयात भएको छ त्यही देशमा फर्काउनुपर्ने प्रावधान हुँदाहुँदै सरकारले सीधै टेन्डरमार्फत बिक्री गर्ने तयारी गरिरहेको छ।सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले वन माफिया र एकीकृत नेकपा माओवादी का कारण वन फँडानी तीव्र भएको भन्दै उहाँले वन फँडानी तत्काल रोक्न वन मन्त्रालय र प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको थियो।माओवादीले सुकुम्बासीको नाममा वन फँडानी कार्यलाई तीव्रता दिएकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न चनाखो हुन प्रशासनलाई निर्देशनसमेत दिनुभयो।वन फँडानी तीव्र बन्दै गएपछि प्रधानमन्त्री नेपालले सुरक्षा निकायका प्रमुखहरु वनमन्त्री र सरोकारवाला निकायका प्रमुखहरु सम्मिलित छलफल कार्यक्रममा वनविनाशमा संलग्न सरकारी कर्मचारीहरुलाई समेत कारबाहीको दायरामा ल्याउनसमेत निर्देशन दिनुभएको थियो।
No comments:
Post a Comment