News

Jun 16, 2010

प्रधानमन्त्री नेपाल राजीनामा दिने मनस्थितिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार १- सभामुख सुवासचन्द्र नेम्बाङले जति तारताकेता गरे पनि प्रधानमन्त्री माधवकुमार नेपालले बजेट अधिवेशन बोलाउन सकेका छैनन्। निकट स्रोतका अनुसार, उनी आफैं राजीनामाको मनस्थितिमा पुगिसकेका छन्। प्रधानमन्त्री नेपालले सोमबार आफ्नो गठबन्धनका १५ दल (कांग्रेस-एमालेबाहेक) सँग परामर्श गर्दा मधेशी दलहरूसहितले असार १० गते अधिवेशन आह्वान गर्न सुझाव दिए। सभामुख नेम्बाङले भने ५ गतेसम्म आह्वान नगरे बजेट पारित गर्ने आवश्यक प्रक्रिया पूरा गर्न नसकिने चेतावनी दिएका छन्। संविधानसभा म्याद थप गर्ने निर्णयअघि गत जेठ १४ गते तीन दलबीच भएको तीन बुँदे सहमतिमा 'प्रधानमन्त्रीले राजीनामा गर्ने' उल्लेख भएपछि प्रधानमन्त्री नेपालले नैतिकरूपमा अधिवेशन आह्वान गर्न कठिनाई महशूस गरेको निकटस्थ स्रोतले जनाएको छ। त्यसकारण उनले कांग्रेस र एमाले शीर्ष नेतृत्वलाई विकल्प दिन तेस्रोपल्ट अनौपचारिकरूपमा आग्रह गरिसकेका छन् जसको पछिल्लो म्याद असार ४ गते सकिँदै छ। सहमतिअनुसार राष्ट्रिय सरकार बनाउन एकीकृत माओवादीसँग कांग्रेस र एमालेको सम्झौता हुन कठिन भएकाले प्रधानमन्त्री नेपालले राजीनामा गरे पनि पुनः बहुमतकै सरकार बन्ने सम्भावना बलियो बनेको छ। माओवादीले बहुमत पुर्‍याउन नसकिरहेको हुनाले वर्तमान गठबन्धनबाटै अर्को नेतृत्व खोज्न प्रधानमन्त्रीले प्रमुख दुई दलका नेतासँग आग्रह गरेको बुझिएको छ। आफ्नो विकल्प दिन कांग्रेस र एमाले तयार नभए पनि प्रधानमन्त्री नेपालले राजीनामाको मनस्थिति बनाउनुको मुख्य कारण आफ्नै दल एमाले भएको स्रोतले जानकारी दिएको छ। एमाले संस्थापन पक्षले आफूलाई सहयोग नपुर्‍याइरहेको महशूस गरेका प्रधानमन्त्रीले संसद अधिवेशनमा आफ्नै दलका सांसदबाट राजीनामा मागिने अनुमान गरेका छन्। स्रोतका अनुसार एमाले सांसदहरूमध्ये पनि उल्लेख्य हिस्साले राजीनामामा जोड दिने उक्त दलभित्र भित्रभित्रै विकसित परिस्थिति बनेको छ। सहमतिमा 'राजीनामा' भन्ने प्रष्ट उल्लेख भएपछि नैतिक बन्धनमा परेको महशूस गरेका प्रधानमन्त्री नेपालले आफू सत्तामा रहेसम्म आफ्नै दल र माओवादीका कारण 'शान्ति प्रक्रिया र संविधान निर्माणमा योगदान गर्न नसकिने' आत्मसात गरिसकेको बुझिएको छ।

No comments: