News

Jun 17, 2010

प्रहरीमा तीन हजार नौ सय ९९ दरबन्दी थप गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२ असार,सरकारले नेपाल प्रहरीमा तीन हजार नौ सय ९९ दरबन्दी थप गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री भीम रावलको प्रस्ताव पारित गर्दै प्रहरीमा दरबन्दी थप गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीमा हाल ५६ हजार ७७ दरबन्दी रहेको छ ।थप गरिएका दरबन्दी सिपाहीदेखि डिआइजीसम्मका हुन् । दुईजना प्राविधिक डिआइजी र त्यसभन्दा तलका अन्य सबै पदमा गरी तीन हजार नौ सय ९९ दरबन्दी थप गरिएको हो ।प्रहरीले जनशक्ति अभावमा कार्यसम्पादनमा असर परेको भन्दै सरकारसँग १० हजार दरबन्दी थप गर्नका लागि प्रस्ताव गरेको थियो । तर, प्रहरीको प्रस्ताव अस्वीकार गर्दै गृह मन्त्रालयले तीन हजार नौ सय ९९ दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गरेको हो ।हाल नेपाल प्रहरीका विभिन्न तह गरी दुई हजार ६४ स्थानमा इकाइ स्थापना गरी प्रहरी परिचालन गरिएको छ । प्रहरीमा ५६ हजार जनशक्तिमध्ये ४५ हजारमात्रै परिचालन भएका छन् । बाँकी जनशक्तिमध्ये केही संयुक्त राष्ट्रसंघको आग्रहमा विभिन्न देशमा शान्ति स्थापनाका लागि खटिएका छन् । नियमित बिदा, बिरामीबिदालगायतका कारणले ४५ हजारमात्रै खटाउन सकिने प्रहरी प्रवक्ता विज्ञानराज शर्माले बताए ।सरकारले दरबन्दी थप गरेपछि कार्यसम्पादन अझ प्रभावकारी हुने नेपाल प्रहरीका प्रशासन प्रमुख एआइजी नरेश गुरुङको भनाइ छ । 'दरबन्दी थप भएपछि अहिलेको तुलनामा कार्यसम्पादन प्रभावकारी र राम्रो हुने अपेक्षा गरिएको छ,' गुरुङले भने ।

No comments: