News

Jul 14, 2011

आज बजेट आउने/बजेट झन्डै चार खर्बको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३० - साढे ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सरकारले करिब ३ खर्ब ८५ अर्ब खर्च गर्ने योजनासहित अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार आर्थिक वर्ष २०६८/६९ को बजेट संसद्मा पेस गर्दै छन् । अपरान्ह ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री अधिकारीले बजेट प्रस्तुत गर्नेछन् । सत्ता साझेदारदेखि विपक्षी दललाई समेत रिझाउन उनले योजना आयोगले दिएको सीमाभन्दा करिब ४ अर्ब रुपैयाँ बढी खर्च गर्ने बजेट बनाएका छन् । यो रकम गत वर्षको भन्दा ४८ अर्ब रुपैयाँ बढी हो । बजेटमा विकास निर्माणका लागि विनियोजन हुने पुँजीगत खर्चका लागि १ खर्ब ४८ अर्ब रुपैयाँ छुट्याइएको छ । मधेसवादी दलले माग गरिरहेको र सरकारको समेत प्राथमिकतामा परेको हुलाकी राजमार्गका लागि करिब ४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सबै दललाई रिझाउन चालू कार्यक्रममै बढी केन्दि्रत बजेटले प्राथमिकताप्राप्त मध्य पहाडी लोकमार्गका लागि करिब डेढ अर्ब रुपैयाँ विनियोजन गरेको बजेट निर्माणमा संलग्न एक अधिकारीले बताए । अर्को महत्त्वाकांक्षी आयोजना फास्टट्रयाकको सीमा डेढ अर्ब रुपैयाँ भए पनि ७० करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।
बजेटले शिक्षामा ६४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसैगरी भौतिक योजनामा ४० र स्वास्थ्य क्षेत्रका लागि २५ अर्ब रुपैयाँ छुट्याइएको छ । ऊर्जामा गत वर्षको भन्दा दोब्बर बढाएर झन्डै २५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मध्य पहाडी प्रसारण लाइन, भेरी-बबई डाइभर्सन, सहरी सडकमा लोडसेडिङ नगर्ने योजना यसपटकका नयाँ कार्यक्रम हुन् । सरकारले साधारण खर्चतर्फ २ खर्ब १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । कर्मचारीको तलब वृद्धि हुने भएकाले यसपटक साधारण खर्च केही बढेको अर्थ स्रोतले बतायो । यसपटक सरकारी कर्मचारीको तलब भत्तासहित २० प्रतिशतसम्म बढ्ने भएको छ । सीधै प्रतिशतमा नबढाएर तल्लो तहका कर्मचारीलाई बढी र माथिल्लो तहमा कम बढ्ने गरी वृद्धि संयन्त्र बनाइएको अर्थ स्रोतले बतायो । यसरी वृद्धि भएको तलबका लागि मात्रै सरकारलाई करिब १५ अर्ब रुपैयाँ व्ययभार थपिएको छ ।
यसपटकको राजस्व लक्ष्य भने २ खर्ब ४६ अर्ब रुपैयाँ तोकिएको छ । चालू आर्थिक वर्षमै लक्ष्यभन्दा झन्डै १० अर्ब कम राजस्व असुली हुने देखिएको बेला यो लक्ष्य भने महत्त्वाकांक्षी रहेको विज्ञहरूले बतााएका छन् । चालू आर्थिक वर्षका लागि २ खर्ब १६ अर्ब रुपैयाँको लक्ष्य तोकिए पनि करिब २ खर्ब ५ अर्ब रुपैयाँ मात्रै उठ्ने देखिएको छ ।

No comments: