News

Jul 28, 2011

काठमाडौंमा साना हातहतियार आपूर्ति गर्ने गिरोहका नाइके पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौंमा साना हातहतियार आपूर्ति गर्ने गिरोहका नाइकेलाई सर्लाही प्रहरीले बुधबार पक्राउ गरेको छ । ३४ वर्षीय भारतीय नागरिक मोहन सिंहलाई प्रहरीले पूर्व-पश्चिम लोकमार्गको मिलनचोकबाट मोटरसाइकलसहित पक्राउ गरेको हो। सिंहको साथबाट तीनवटा पेस्तोल र सात थान गोली बरामद भएको प्रहरीले जनाएको छ । सिंहले नाइन प्वाइन्ट सिक्स टु अटोमेटिक पेस्तोल २२ हजारमा, माउजर १० हजारमा र कटुवा पेस्तोल ३ देखि ५ हजारमा बिक्री गर्ने गरेका खुल्न आएको छ । उनले भूमिगत समूहलाई पनि हतियार दिने गरेको प्रहरीले बताएको छ । सर्लाहीको सुदामा, ६ निवासी सिंह भारतीय नागरिक भएको प्रहरीले जानकारी दिएको छ । नेपालको नागरिकता लिनसमेत सफल सिंहले सामान्य नागरिकका रूपमा काम गर्दै भित्री रूपमा अवैध धन्दा चलाएको प्रहरीको दाबी छ । भारतमा हत्या, अपहरण र लुटपाटका घटनामा संलग्न उनलाई भारतीय प्रहरीले व्यापक खोजी गरेपछि नेपालमा लुकेर हतियारको व्यवसाय गर्दै आएका थिए । भारतीय सीमा नजिकको गाविस सुदामामा बस्न समस्या भएपछि उनी जिल्लाको उत्तरस्थित ढुंग्रेखोला क्षेत्रमा आएर लुकिछिपी बस्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।

No comments: