News

Jul 28, 2011

संयुक्त गठबन्धनले संघीयता र राज्यको पुनर्संरचनाबारे स्वीस अनुभव लियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
जुलाइ २६, २०११ संविधान निर्माण प्रक्रिया, संघीयता र राज्यको पुनर्संरचनालगायत आदिवासी जनजातिहरूको हक अधिकारहरू सुनिश्चित गराउने सवालमा गठबन्धित आदिवासी जनजातिसँग सम्बद्ध राजनीतिक संगठनहरूको संयुक्त गठबन्धन जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले २०११ जुलाई २६ का दिन काठमाडौमा एक अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । स्वीस संघीयता तथा संविधान निर्माणसम्बन्धी विज्ञ डा. निकोल टपरविनसँग गरिएको सो अनुभव आदान- प्रदान कार्यक्रममा गठबन्धनका आठवटै दल तथा सम्बद्ध संगठनका विशेष प्रतिनिधि र नेताहरूको सहभागिता रहेको थियो । गठबन्धनका अध्यक्ष परशुराम तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सबै सङ्गठनका प्रतिनिधि नेतृत्वहरू- ताम्सालिङ नेपाल राष्ट्रिय दलका अमरधोज लामा, नेपाः राष्ट्रिय पार्टीका डा. रमेश श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चन्द्र श्रीस मगर, जनमुक्ति पार्टी नेपालका अटलमान राई, एमाओदवादी सम्बद्ध आदिवासी जातीय-क्षेत्रीय मोर्चाका मा. सुरेश आले मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका किरण खम्बू, अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का केबी गुरुङ र आदिवासी जनजाति महासंघ (समाजवादी)का रामसिंह लामाले आ-आफ्ना धारणा राखेका थिए । कार्यक्रममा स्वीस अनुभव सेयर गर्दै अतिथि डा. निकोल टपरविनले स्वीस संघीयताको मोडेल, संघीयतामा जाँदा अपनाइएका आधार र उपायहरू, सीमा निर्धारणका सवालहरू, राज्य शक्तिको बाँडफाँड, शासकीय स्वरुप, राजनीतिक शैली, शिक्षानीति, अर्थनीति र विभिन्न जाति तथा सिमान्तीकृत समुदायहरूलाई प्रदान गरिएको अधिकार आदिबारे अनुभव र विचारहरू सेयर गर्नुभएको थियो । 'एनटीटीपी थिमाटिक ग्रुप अन जनाजातिज'को प्रबन्ध संयोजनमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले गरेका थिए ।
यसै गठबन्धनले यही गत जुलाई २० मा संवैधानिक संवाद केन्द्र काठमाडौंमा समसामयिक राजनीतिक परिस्थिति र संविधान निर्माणका चुनौती” विषयक एक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको थियो । साथै, यही जुलाई २७ र २८ गते काठमांडूमा यसै संयुक्त गठबन्धनको आयोजनामा “संविधान र संघीयताका सम्बन्धमा आदिवासी जनजाति र मधेशवादी दलहरूबीच एक अन्तरक्रियात्मक संवाद कार्यक्रम” समेत गर्ने कार्यक्रम रहेको छ ।

No comments: