News

Jul 30, 2011

भैंसीलाई झन्डै पाँच महिना 'हिरासत' मा राखेर मुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, श्रावण १४ - भैंसी हिरासतमा ! अचम्म मान्नु पर्दैन । पर्शुरामपुरस्थित कट्टी बलुवा प्रहरी बेसक्याम्पले एउटा भैंसीलाई झन्डै पाँच महिना 'हिरासत' मा राखेर मुक्त गरेको छ । क्याम्पले फागुनदेखि नियन्त्रणमा लिएको पर्शुरामपुर- ९ का जोधा दासको गर्भिणी भैंसी गतसाता मात्रै परिवारलाई फिर्ता गरेको छ । दास परिवारले स्थानीय दुर्गा सिंहको परिवारलाई क्याम्पमा ४० हजार रुपैयाँ दिएपछि मात्र प्रहरीले उक्त भैंसी मुक्त गरेको हो । दासले उक्त रकम सिंह परिवारसित ऋण लिएका थिए । दासको परिवारसँग फागुनमा भएको कुटपिटमा ६५ वर्षीय सिंहको मृत्यु भएको थियो । त्यसयता दास परिवारका जोधा, उनका जेठा छोरा कमलेश र कान्छा छोरा रमेश फरार छन् । कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका तीनै जनालाई प्रहरीले खोजी गरिरहेको छ । दास परिवारको घरमा अहिले महिला र बालबालिका मात्रै छन् । उनीहरूले नै अर्को ऋण गरेर उक्त रकम तिरेका थिए । पहिले घनिष्ठ सम्बन्ध भएका बेला जोधाले आफूसँग ४० हजार रुपैयाँ ऋण लिएको भन्दै उक्त रकम उठाउन दास परिवारको भैंसी लान खोजेपछि विवाद प्रहरीसम्म पुगेको थियो । दास परिवारले ऋण लिएको कागजी प्रमाण भने सिंह परिवारले देखाउन सकेको थिएन ।
त्यसपछि प्रहरीले सर्वपक्षीय भेला गरी दास परिवारले ४० हजार रुपैयाँ ऋण चुक्ता नगरेसम्म भैंसी आफ्नै नियन्त्रणमा राख्ने निर्णय गरेको थियो । 'भैंसीकै कारण दुवै परिवारबीच पुनः काटमार हुने र गाउँको शान्ति सुरक्षा नै खलल हुने अवस्था आएपछि भैंसीलाई बेसक्याम्प परिसरमै राख्ने निर्णय गरेका हौं,' क्याम्प प्रमुख प्रहरी नायब निरीक्षक रमेश तिमल्सेनाले भने, 'मैले आफ्नो १३ वर्षे जागिरे जीवनमा यस्तो अनौठो मुद्दा देखेको र भोगेको थिइनँ ।'यसबीचमा गर्भिणी भैंसीको उचित स्याहार गर्न दास परिवारले गाउँकै चिरकुट धोबीलाई सुसारेमा नियुक्त गर्‍यो । महिनाको दुई हजार रुपैयाँ वा त्यस बराबर अन्न पाउने गरी नियुक्त भएका धोबीले उक्त भैंसीलाई दैनिक चराउने, नुहाइदिनेलगायत स्याहारसुसार गरे । जोधाकी छोरी रिनाले आफूहरू प्रहरी बेसक्याम्प धाएर भैंसी स्याहार्न नसक्ने भएकाले चिरकुटलाई सुसारे नियुक्त गरेको बताइन् । भैंसी बेसक्याम्पबाट फिर्ता ल्याएको चार दिनमै ब्याएको र बुधबार ३५ हजार दुई सय रुपैयाँमा पर्शुरामपुर-६ का वीरेन्द्र मुखियालाई बिक्री गरिदिएको उनले बताइन् ।
भैंसीलाई मुक्त गर्न लिएको ४० हजार ऋणमध्ये पाँच हजार रुपैयाँ अझै तिर्न बाँकी रहेको उनले जनाइन् । घरमा पुरुष सदस्य कोही नभएकाले उक्त रकम तिर्न समस्या परेको उनले सुनाइन् । यता भैंसी खरिद गरेका वीरेन्द्र मुखिया पनि आफू ठगिएको अनुभव गर्दैछन् । गर्भिणी हुँदा राम्रो स्याहार नपाएकाले भैंसीले कम दूध दिएको उनले बताए । 'मानिसको झगडामा अनाहकमा पशुलाई नियन्त्रणमा लिएर प्रहरीले आफ्नो कार्यक्षेत्र बाहिर गएर काम गरी पशु अधिकार उल्लंघन गरेको छ,' छिमेकी गाउ वीरन्चिबर्वाका अनुप तिवारीले भने ।

No comments: