News

Jul 27, 2011

माओवादी नयाँ मन्त्रीहरुको प्रस्तावले राजनीतिमा नयाँ तरंग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्ता साझेदार एकीकृत नेकपा माओवादीले आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको जम्बो टोलिको सुचि प्रधानमन्त्रीलाई बुझाए पछि नेपाली राजनीतिमा अर्को तरंग पैदा भएको छ । माओवादीले आफूले सिफारिस गरेका मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीलाई दबाब दिएको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस र आफ्नै दलभित्रको विवादका कारण प्रधानमन्त्रीले तत्कालै सपथ खुवाउन सक्ने छाट छैन ।
माओवादीले केही दिनअघि मात्रै पार्टीबाट सरकारको नेतृत्व सम्हालिरहेका उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरासहितका केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको सुचि प्रधानमन्त्री झलनाथ खनाललाई बुझाएको हो । माओवादीले प्रधानमन्त्री खनाललाई आफ्ना मन्त्रीहरुको सपथ खुवाउन आज बिहान ८ बजे सम्मको समय दिएको थियो । माओवादीले आज बिहानसम्म सपथ ग्रहण नभए ठोस निर्णय लिने चेतावनी समेत दिएको थियो तर प्रधानमन्त्री झलनाथ खनालले केही समय ठोस निर्णय नलिन आग्रह गरेपछि आज बसेको माओवादी स्थायी समिति बैठकले केही समय पर्खिने निर्णय गरेको छ ।
यता, माओवादी सचिव सीपी गजुरेलले आज काठमाडौँमा भएको एक कार्यक्रममा भोलिसम्म पार्टीले सिफारिस गरेका मन्त्रीहरुको सपथ ग्रहण नभए सबै पार्टीबाट सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने चेतावनी दिएका छन् । माओवादी स्थायी समितिको निर्णय र सचिव गजुरेलको यस्तो चेतावनीले प्रधानमन्त्रीले सपथ ग्रहण नगराए माओवादीले सबै मन्त्रीहरु फिर्ता बोलाउन सक्ने सम्भवना उत्तिकै रहेको छ । तर, प्रधानमन्त्री खनाल, प्रमुख प्रतिपक्षी कांग्रेसको कडा विरोध र आफ्नै दल भित्रको ओली–नेपाल खेमाको दबाबका कारण पनि तत्काल माओवादीको प्रस्ताव कार्यान्वयन गर्न सकेका छैनन् । प्रतिपक्षी कांग्रेसले जेठ १४ गते भएको पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि वर्तमान सरकारले राजीनामा दिनुपर्नेमा उल्टै मन्त्रीमण्डल विस्तार गर्न लागेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसले यो सरकारको राजीनामा नआएसम्म संसद चल्न नदिने दाबि गरेको छ ।
यता, आफ्नै दल भित्र पनि प्रधानमन्त्री खनाललाई मन्त्रीमण्डल विस्तार नगर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि तत्काल राजीनामा दिन दबाब दिइदै आएका छन् । आज राजधानीको एक कार्यक्रममा एमाले स्थायी समिति सदस्य प्रदिप ज्ञवालीले माओवादीले प्रस्ताव गरेको नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउनु परेमा राजीनामा दिने उल्लेख गरे । यसरी माओवादीले प्रस्ताव गरेका नयाँ मन्त्रीहरुको विषयले नेपाली राजनीतिमा एउटा तरंग त पैदा गरेकै छ । यो विषयलाई प्रधानमन्त्री खनालले हल गर्न नसकेमा यो सरकार नै संटमा पर्ने सम्भावना पनि बढेर गएको छ । अहिले माओवादीहरु पर्ख र हेरको नीतिमा अडिग छन् भने एमालेहरु माओवादीको प्रस्ताव स्वीकार गर्नुपरेमा राजीनामा दिनुपर्छ भन्नेमा रहेका छन् । तर प्रधानमन्त्री झलनाथ खनाल भने सहमतिमा सपथ ग्रहण गराउनेमा उभिएका छन् जो सहमति त्यति सजिलो छैन ।

No comments: