News

Jul 21, 2011

माओवादी सेनाका सेक्सन कमान्डर हिरासतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत जिल्लाको दशरथपुर गाविस-९ स्थित मोतीप्रसाद चपागाईंको घर लुटपाट तथा चोरी-डकैतीमा संलग्न रहेका माओवादी सेनाका एक सेक्सन कमान्डरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार हिरासतमा लिएको छ । माओवादीको दशरथपुरस्थित जनसेनाको छैटौँ डिभिजन मुख्यालयले बुधबार एक पत्रकार सम्मेलन गरी सेक्सन कमान्डर केशवसिंह विकलाई प्रहरीसमक्ष बुझाएपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो ।
माओवादी सेनाबाट बहिर्गमनमा परेर अनुसन्धानका लागि प्रहरीमा रहेका पूर्वमाओवादी सेना हुम्लाका नरेन्द्र रोकाया र लक्ष्मण रोकायाले दिएको बयानका आधारमा उनलाई प्रहरीमा बुझाइएको बताइएको छ । बुधबारदेखि प्रहरी हिरासतमा परेका सेक्सन कमान्डर विक मुख्यालय अन्तर्गत पूर्ण झरना स्मृति ब्रिगेडमा एसकेटी ११२७१७८ नम्बर सैन्य दर्तामा कार्यरत थिए । विक चपाईंको घरमा गत जेठ २८ गते राति भएको चोरी-डकैती तथा लुटपाटमा संलग्न भएको भनी बयान दिने पूर्वलडाकुद्वय रोकायालाई दोस्रो प्रमाणीकरणबाट अनमिनले अयोग्य ठहर गर्दै डिभिजनबाटै बहिर्गमन गरिसकेको थियो । माओवादीको छैटौँ डिभिजन मुख्यालयले बुधबार प्रहरीसमक्ष कारबाहीका लागि बुझाइएका कमान्डर विकमाथि बुधबारदेखि नै अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

No comments: