News

Jul 29, 2011

माओवादी केन्द्रीय समिति बैठकका आधिकारिक निर्णय सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १३,एनेकपा माओवादीले केन्द्रीय समितिको पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ। केन्द्रीय समितिको निर्णयबारे फरक गुटका नेताद्वारा फरक फरक धारणा र विश्लेषण बाहिर ल्याइएपछि अध्यक्ष पुष्पकमल दाहालले आधिकारिक निर्णय आफ्नै हस्ताक्षरमा सार्वजनिक गरेका हुन।
माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ
हालै हाम्रो महान् तथा गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी)को केन्द्रीय समितिको पूर्ण बैठक आदरणीय अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। बैठकमा लिइएका आवश्यक निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
१– समग्र क्रान्तिसहित महान् जनयुद्धका वीर अमर सहिदहरुप्रति एक मिनेट मौन धारण गरी सम्मानपूर्वक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।
२– अध्यक्ष क. प्रचण्डद्वारा प्रस्तुत “पार्टीको तात्कालिक कार्ययोजनाका सम्बन्धमा” शीर्षक प्रस्ताववारे व्यापक छलफल भयो र आवश्यक थपघट, संशोधन तथा परिमार्जन सहित विगतमा भएका मतभिन्नता कायमै रहने गरी सो कार्ययोजना पारित गरियो। सो प्रस्तावमा शान्ति, संविधान तथा सरकार, अन्तसंघर्ष र आगामी कार्ययोजनाबारे लिइएका निर्णयहरुको मूल अर्न्तवस्तु तथा सारसक्षेप निम्न अनुसार रहेको छ :
(क) शान्ति, संविधान र सहमतिको सरकार निर्माणका आधार निश्चित गरी अबिलम्ब अन्य राजनैतिक पक्षसँग परिणाममुखी वार्ताद्वारा निष्कर्षमा पुग्न विशेष जोड गर्ने निर्णय गरिएको छ।
(ख) राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा तथा संवेदनशील विषयलाई लिई सरकारद्वारा यथाशक्य सम्बोधन गराउन र अग्रगामी निकाससहितको शान्ति, जनताको संविधान तथा आमूल रुपान्तरणका लागि सडकबाट जनदबाव सृष्टि गर्न कार्यक्रम तथा कार्यतालिका बनाई भाद्र महिनाबाट प्रभावकारीरुपमा जनपरिचालनको अभियान सञ्चालन गर्ने निर्णय लिइएको छ।
(ग) सामूहिक नेतृत्व प्रणाली र कार्यविभाजनको प्रश्नलाई वैचारिकरुपले नै नयाँ उँचाइमा उठाई पार्टीलाई एकताबद्ध तुल्याउने आवश्यकता तथा केन्द्रीकरण र विकेन्द्रीकरणको द्वन्द्ववादमाथि ध्यान दिँदै पार्टीका महत्वपूर्ण जिम्मेवारीहरुको कार्यविभाजन गर्ने ठेगान भएको छ।
(घ) पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्न तथा पार्टीमा एकता र विश्वासको वातावरणको विकास गर्न नेतृत्व तहबाट केही निश्चित विषयमा ध्यान दिई नयाँ आचारसंहिता पारित गरिएको छ र त्यसलाई अबिलम्ब कार्यान्वयन गर्ने निर्णय लिइएको छ।
(ङ) पार्टीद्वारा पारित नीति र कार्ययोजनाबारे सिंङ्गो पार्टीभित्र एकरुपता कायम गरी कार्यान्वयन गर्नकालागि भाद्र महिनाको पहिलो हप्तासम्म राज्यस्तरीय प्रशिक्षण सम्पन्न गर्ने।
(च) पार्टीमा विद्यमान वैचारिक बहस तथा मतभेदका विषयहरुवारे फोरम चलाउने तथा महाधिवेशनको प्रक्रियामा जाने र यसबारे ठोस निर्णय भाद्र १४ पछि सम्पन्न गरिने केन्द्रीय समितिको बैठकमा लिने।
३– पार्टीको आर्थिक आय–व्यय तथा स्रोत–साधनको सामूहिक व्यवस्थापन विधानअनुसार अर्थ तथा लेखा विभागलाई अविलम्म हस्तान्तरण गर्ने निर्णय लिइयो।
४– आगामी भाद्र १४ गतेसम्मका लागि नीतिगतरुपमा निर्धारित कार्ययोजनालाई स्थायी समितिको बैठकमा मूर्त बनाइने छ।
५– एक पद तथा एक प्रमुख जिम्मेवारीको मान्यता अवलम्बन गर्ने, आवश्यकता तथा योग्यतामाथि ध्यान दिने र विभिन्न प्रवृत्तिहरुलाई परिपूरक बनाउने मापदण्डका आधारमा सांगठनिक कार्यविभाजन गर्ने निर्णय लिइयो र त्यस अनुसार संगठनात्मक क्षेत्रमा आवश्यक कार्यविभाजन गरिएको छ।
अन्त्यमा, देश, जनता तथा क्रान्तिका ऐतिहासिक कार्यभारहरु पूरा गर्नेबारे विशेष ध्यान दिंदैं र पार्टीलाई एकता, संघर्ष तथा रुपान्तरणका आधारमा एकताबद्ध तुल्याउँदै अगाडि बढ्न केन्द्रीय समिति शानदाररुपमा सफल रहेको संश्लेषणसहित अत्यन्तै सौहार्दपूर्ण वातावरणमा अध्यक्ष क. प्रचण्डद्वारा बैठकको समापन गरियो ।

प्रचण्ड
अध्यक्ष
एनेकपा माओवादी
केन्द्रीय समिति
साउन १३, २०६८

No comments: