News

Jul 21, 2011

बिश्वकप छनौट खेल्न फुटबल टोली जोर्डन प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ५ - नेपाली राष्ट्रिय फुटबल टोली ब्राजिलमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनौट खेलका लागि बिहीबार जोर्डन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल सङ्घले बुधबार एक कार्यक्रमको आयोजना गरी सो टोलीलाई विदाइ गरेको थियो । विदाइका क्रममा युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले फुटबल खेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्दै नेपाली टोलीको सफलताको कामना गरेका थिए । यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापालगायतले पनि टोलीको सफलताको कामना गरेका थिए । फिफाको वरियातमा नेपाल एक सय ४८ औँ स्थानमा रहेको छ भने जोर्डन ८४ औँ स्थानमा छ । सहिद स्मारक ए डिभिजन लिग सकिएपछि लगातार वर्षाका कारण चार दिनमात्र अभ्यास गरेको नेपालले यही साउन ७ गते जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि नेपालले पहिलो चरणको खेलमा घरेलु मैदानमा इस्ट टिमोरलाई ७–१ गोलले पराजित गरेको थियो । नेपाली टोलीमा प्रशिक्षक ग्राह्म रोवर्ट्स, सहायक प्रशिक्षक उपेन्द्रमान सिंह र मेघराज केसीसहित २९ सदस्य सम्लग्न छन् ।

No comments: