News

Jul 16, 2011

बिहे गरेको २५ वर्षपछि बहुविवाहको मुद्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३२ - लोग्नेमान्छेले एकभन्दा बढी श्रीमती बिहे गरेर बहुविवाहको मद्दा खेपेको त सुनिएकै हो तर नातिनातिना भइसकेपछि बहुविवाहको आरोपमा पक्राउ परी अदालतमा बहुविवाहको आरोपमा मुद्दा खेप्न जानुपरेको चाँहि कमै सुनिएको छ । मोरङ होक्लाबारी– २ का ५० वर्षीय छत्र भण्डारीले भने बिहे गरेको २५ वर्षपछि बहुविवाहको आरोपमा अदालतमा मुद्दा खेप्न बाध्य हुनुपरेको छ । भण्डारीले २०४१ सालतिर कान्छी श्रीमती रुपा भण्डारीलाई बिहे गरेर भित्र्याएका थिए । कान्छी श्रीमतीबाट जन्मेका ३ जना सन्तानमध्ये केहीको घरजमसमेत भइसकेको छ । तर बुढेसकालमा उनलाई झापाको लखनपुर बस्दै आएकी उनकै जेठी श्रीमती मालादेवीले अंश मुद्दा चर्किएपछि बहुविवाहको जाहेरी दिएर उनलाई प्रहरीमार्फत पक्राउ गराई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएकी हुन् । तर भण्डारी अदालतबाट सादा तारेखमा रिहा भइसकेका छन् ।
आफूपट्टि चार जना छोराछोरी हुर्काइसकेकी मायादेवीले आफ्नो नाममा रहेको चार कट्ठा जग्गा श्रीमान् छत्रमानले कान्छी श्रीमतीको नाममा गरिदिएपछि कानुन व्यवसायीहरुको सल्लाहअनुसार उनले श्रीमान् छत्रबहादुरलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
कानुन व्यवसायीहरू पुरानो नजिरसहित पुगेपछि बाध्य भएर छत्रलाई पक्राउ गरी म्याद थप गरी बहुविवाहमा मुद्दा चलाउनुपरेको इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक राजेश थापाले बताए । समाजमा एक दुई वर्षभित्र बहुविवाह भएमा कारबाहीको माग गर्दै मुद्दा पर्ने गरेका छन् । तर यतिधेरै लामो समय बितिसक्दा र कान्छीपट्टिका छोराछोरीको घरजमसमेत भइसकेपछि बहुविवाह भन्दै जाहेरी परेको आफूले पहिलोचोटि थाहा पाएको निरीक्षक थापाले बताए । तर, नजिर भएकाले आफूले भण्डारीलाई पक्राउ गरी कानुनी कारबाही चलाउन बाध्य भएको तर झगडा अंश मुद्दाकै भएको बताए ।

No comments: