News

Jul 12, 2011

उत्कृष्ट नौ खेलाडीको मूर्ति ठड्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २८ - नेपाल ओलम्पिक सङ्ग्रहालयले नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने नौजना उत्कृष्ट खेलाडीको मूर्ति निर्माण गर्ने भएको छ । सो सङ्ग्रहालयद्वारा मंगलबार आयोजित पत्रकारसम्मेलनमा भावी पिँढीहरुका लागि जीवन्त राख्ने उद्देश्यले सङ्ग्रहालय हाताभित्र ती मूर्ति निर्माण गर्न लागिएको बताइयो । ओलम्पिक खेलमा पहिलो कास्य पदक विजेता विधान लामा, तेक्वान्दोमा पहिलो एसियाली रजत पदक विजेता सविता राजभण्डारी, एथलेटिक्समा साग र एसियाली खेलमा सर्वाधिक उत्कृष्ट पदक विजेता दीपक विष्ट, साफ म्याराथन रेकर्डहोल्डर तथा नेपालका सर्वाधिक सफल खेलाडी बैकुण्ठ मानन्धर रहेका छन् । यसैगरी पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, ओलम्पिकमा पहिलो क्वालिफाइड सङ्गीना वैद्य, उत्कृष्ट बक्सिङ खेलाडी स्वर्गीय दलबहादुर रानामगर, खेल व्यवस्थापक एवम् फुटबल खेलको विकासमा विशेष योगदान पुर्याउने गणेश थापा र स्वर्गीय नरशमशेर जबराको ढलौट मूर्ति निर्माण र विशेष कक्षको स्थापना गर्ने भएको हो । नेपाल ओलम्पिक सङ्ग्रहालयका संस्थापक अध्यक्ष क्षितिजअरुण श्रेष्ठले सो मूर्ति निर्माण गर्नका लागि तयारी भइरहेको बताए । ललितपुरका मूर्तिकार प्रेम महर्जनले ती मूर्तिहरु बनाउने छन् । श्रेष्ठले सो नौजना खेलाडीको मूर्ति बनाउनका लागि लगभग रु ३० लाख लाग्ने पनि बताए । कार्यक्रममा रजत पदक विजेता सविता राजभण्डारीले सो मूर्ति निर्माणका लागि आफ्नो तर्फबाट रु एक लाख नगद प्रदान गरिन् ।

No comments: