News

Jul 25, 2011

उपप्रधान तथा गृहमन्त्री महराद्वारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ९ - उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले सोमबार दिउँसो पदबाट राजीनामा दिएका छन् । उनले पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी उनैमार्फत राजीनामा बुझाएका हुन् । महराका प्रेस संयोजक मनोज मगरले राजीनामापत्र सोमबार दिउँसो नै प्रधानमन्त्री झलनाथ खनाल समक्ष पुगिसकेको जनाए । माओवादीले गरेको मन्त्रीहरुको हेरफेरप्रति प्रधानमन्त्री असन्तुष्ट रहेकै बेला माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका मन्त्री महराले राजीनामा दिएका हुन् । माओवादीको केन्द्रीय समितिले आइतवार सरकारको पुनर्गठन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीसहित सरकारको नेतृत्वको जिम्मा दिइएको छ । नयाँ टिमलाई सरकारमा सहभागी हुन मार्गप्रशस्त गर्नका लागि महराले राजीनामा दिएको बताइएको छ । माओवादीको समर्थनमा गएको माघ २० गते एमाले अध्यक्ष खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । प्रधानमन्त्री निर्वाचित भएको १ महिनापछि फागुन २१ गते माओवादी स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख महरा माओवादीको तर्फबाट सरकारको नेतृत्व गरेर उपप्रधान तथा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । माओवादी सरकारमा सहभागी भएको दुई महिनापछि वैशाख २१ गते माओवादीले सरकारलाई पूर्णता दिंदै महरालाई गृहमन्त्रीको जिम्मेवारी दिएको थियो ।

No comments: