News

Jul 11, 2011

डिजेल र मटितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २७ - नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको छ । निगमले आइतबारदेखि लागू हुने गरी मूल्य बढाएको हो । उक्त वृद्धिसँगै काठमाडौंका उपभोक्ताले डिजेल र मटितेल खरिद गर्दा प्रतिलिटर ७३ रुपैयाँ ५० पैसा तिर्नुपर्ने छ । यसअघि काठमाडौंमा डिजेल र मटितेलको खुद्रा मूल्य प्रतिलिटर ६८ रुपैयाँ ५० पैसा थियो । मूल्य वृद्धिपछि निगमको मासिक घाटा करिब ३० करोड रुपैयाँले घटेको छ । निगमको मासिक घाटा १ अर्ब ४ करोड रुपैयाँ थियो । 'मूल्य वृद्धिपछि निगमको मासिक घाटा ७३ करोड ९० लाख रुपैयाँमा झरेको छ,' निगम प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले भने । भारत सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएको करिब २ साता पछाडि मूल्य वृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएपछि घाटा धान्न भारतले असार १० मा डिजेल प्रतिलिटर ३ भारु -४ रुपैयाँ ८० पैसा), खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५० भारु (८० रुपैयाँ) र मटितेलमा प्रतिलिटर २ भारु -३ रुपैयाँ २० पैसा) मूल्य वृद्धि गरेको थियो । लागत महँगो परे पनि सस्तोमा बेच्नु परेका कारण घाटा बेहोरिरहेको निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारसँग डेढ महिना अगाडि मासिक १ अर्ब ५० करोड रुपैयाँ मागेको थियो । सरकारबाट पैसा नपाएपछि मूल्य बढाएको हो ।

No comments: