News

Jul 9, 2011

नेकपा एमालेको राष्ट्रिय भेला साउन ७ र ८ गते काभ्रेको धुलिखेलमा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको राष्ट्रिय भेला साउन ७ र ८ गते काभ्रेको धुलिखेलमा हुने भएको छ । एमाले काभ्रेले आज पत्रकार सम्मेलन गरेर भेलाको तयारी तीब्ररुपमा भइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य भानुभक्त ढकालले आउँदो राष्ट्रिय परिषदको बैठकका लागि भेलाले एजेण्डा तय गर्ने बताउनुभयो । उहाँका अनुसार भेलामा पार्टीभित्रको अन्तरिक जीवनका साथै सरकारमा सहभागी भएपछि र आठौं महाधिवेशनपछिको कामहरुको समीक्षा गरिनेछ । भेलामा केन्द्रीय विभागका प्रमुखहरु, सबै अञ्चल तथा जिल्ला कमिटीका गरी २ सय प्रतिनिधिको सहभागिता हुने ढकालले बताउनुभयो । भेलामा सत्ता सञ्चालन, शान्ति प्रक्रिया र नयाँ संविधानका विषयमा पनि छलफल हुने ढकालले बताउनुभयो । ढकालका अनुसार भदौ ३० गतेदेखि पार्टीको राष्ट्रिय प्रतिजिधि परिषदको बैठक बस्दैछ । परिषदले केन्द्रीय कमिटीका एक तिहाई सदस्यसमेत परिवर्तन गर्नसक्ने पार्टीको विधानमा रहेकाले भेलामा यस विषयमा पनि कुराकानी हुन सक्ने बताइएको छ । पत्रकार सम्मेलनमा एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटाले महाधिवेशन भएको साँढे दुई बर्ष भएकाले यो बीचमा भएका सबैजसो गतिविधिका विषयमा छलफल हुने बताउनुभयो ।

No comments: