News

Jul 25, 2011

नर्वे घटना 'एक्लैले आक्रमण गरें’- एन्डर्स बेहरिङ ब्रेभिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ओस्लो,श्रावण ९ - कम्तीमा ९३ जनाको ज्यान लिने गरी नर्वेमा शुक्रबार भएका घटनामा पक्राउ शंकास्पद बन्दुकधारी ३२ वर्षीय एन्डर्स बेहरिङ ब्रेभिकले उक्त विस्फोट र गोलीकान्ड आफूले गरेको स्विकारेका छन् । उनले आफू एक्लैले उक्त घटना गरेको दाबी गरेका छन् । ब्रेभिकले उक्त घटनालाई 'वीभत्स तर आवश्यक' भनेका छन् । राजधानी ओस्लोमा भएको विस्फोटमा ७ जना र उटोइयाको गोलीकान्डमा ८६ जनाले ज्यान गुमाएका थिए । ती घटनामा ९६ जना घाइते छन् भने अझै केही हराइरहेका छन् । प्रहरी प्रमुख स्वेइनुग स्पोन्हुइमले पत्रकार सम्मेलन गरी ब्रेभिकले विस्फोट र गोली कान्ड आफूले गरेको स्वीकार गरेको जानकारी दिए । 'उसले आफूले अपराध गरेको भने स्विकारेको छैन,' उनले भने, 'उसले घटना आफू एक्लैले गरेको बताएको छ । तर प्रहरीले यसलाई प्रमाणित गर्नुपर्छ । उटोइया प्रान्तका केही प्रत्यक्षदर्शीका भनाइले त्यहाँ एक जना वा धेरै बन्दुकधारी थिए भन्नेमा हामी टुंगोमा पुग्न सकेका छैनौं ।' प्रहरीले तत्कालै अर्को कसैमाथि दृष्टि नराखेको तर उसलाई कसैले सहयोग गरेको हुन सक्नेबारे इन्कार गरिनहालेको उनले बताए । ब्रेभिकले अनुसन्धानमा सघाउ पुर्‍याइरहेको उनको भनाइ थियो । 'ऊसँग राम्रो संवाद भएको छ,' उनले भने । दुवै घटनाको अभियोग लगाइएको ब्रेभिकलाई सोमबार अदालत लगिनेछ ।
नर्वेली कानुनअनुसार ब्रेभिकले २१ वर्षसम्म जेल सजाय पाउन सक्ने स्पोन्हुइमले बताए ।
गोलीकान्ड सुरु भएको करिब डेढ घन्टामा घटनास्थल पुगेको प्रहरीले बे्रभिकलाई पक्राउ गरेको थियो । गोलीकान्डमा कम्तीमा ४ जना अझै हराइरहेका छन् । गोलीबाट बच्न केहीले तलाउमा पौडी खेलेकाले उनीहरू डुबेको हुन सक्ने आशंकासमेत गरिएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । घटनाको स्मृतिमा ओस्लोस्थित मुख्य लुथरन चर्चलगायत मुलुकभर शोक सभाहरू गरिएका छन् । नर्वेली राजा हराल्ड पाँचौं र उनकी रानी सोन्जा प्रधानमन्त्री जेन्स स्टोल्टेनबर्ग उक्त चर्चमा आयोजित शोकसभामा उपस्थित थिए । 'घटना भएयताका दुई दिन निरन्तर घन्टा, दिन र रातहरू चोट, दुःख र रोदनले भरिएका छन्,' प्रायः सबै रोइरहेका उक्त सभामा प्रधानमन्त्री स्टोल्टेनबर्गले भने, 'यो राष्ट्रिय वियोग हो ।'प्रहरीले आइतबारै उत्तरी ओस्लोको एक स्थानमा छापा मारेर केहीलाई पक्राउ गरेर छाडिदिएको छ । त्यहाँ कुनै विस्फोटक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ । ओस्लो प्रहरीले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ । ब्रेभिकले घटनापछि आफैंले आत्मसमर्पण गरेको उनका वकिलले बताएका छन् । 'उनले यो घटना वीभत्स हुने सोचे पनि उनले यो आवश्यक ठाने,' ब्रेभिकका वकिल गेइर लिप्पेस्टाडले सञ्चार माध्यमहरूसँग भने, 'उनी समाज परिवर्तन गर्न चाहन्थे । उनको दृष्टिकोणमा यसका लागि क्रान्तिद्वारा बल प्रयोग गर्नुपथ्र्यो । उनी समाज र समाजको संरचनालाई आक्रमण गर्न चाहन्थे ।' ब्रेभिकले केही समयको योजनापछि घटना गराएको उनले बताए ।

No comments: