News

Feb 24, 2012

एसएमएसले घरको स्विच आफैं बन्द हुने र खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बूटवल, फाल्गुन ११ - के तपाईं बत्ती ननिभाई अफिस जानुभयो ? पंखा बन्द नगरी घरबाट निस्कनुभयो कि ? मोटर चलाएर पानी तान्नु पो पर्ने थियो कि ? यस्ता समस्या छन् भने अब नआत्तिनुस् । बरु मोबाइल लिनुस् एसएमएस गर्नुस् । जहाँ भए पनि तपाईंले गरेको एसएमएसले घरको स्विच आफैं बन्द हुने र खुल्ने छ । व्यस्त मानिसका दैनिक जीवनमा पर्ने यस्तै समस्या समाधानको उपाय निकालेका हुन्, रूपन्देहीको लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीका विद्यार्थीले । बीई इन्जिनियरिङ गरिरहेका उनीहरूले 'एसएमएस बेस्ड होम अप्लायन्स कन्ट्रोलर' बनाएका हुन् । यसका लागि घरमा एसएमएस सुविधा भएको एउटा डिभाइस राखिन्छ । त्यसपछि घरका प्रत्येक विद्युतीय स्विचका नम्बर तोकिन्छ । त्यसैको सहयोगमा तपाईंले लिने जुनसुकै मोबाइलबाट पनि एसएमएस गरे घरका स्विच आफैं खुल्ने र बन्द हुने गर्छन् ।
दैनिक जीवनमा प्रयोग गर्न सकिने यो प्रविधि त्यति महँगो पनि छैन । प्रविधि निर्माता समूहका विद्यार्थी सुशील सापकोटा भन्छन् ,'करिब १० हजार रुपैयाँ लगानी गर्ने हो भने सबै काम गर्न सकिन्छ ।'यो प्रविधि प्रयोग गर्ने हो भने आफू बाहिर भए पनि अहिले जस्तो लोडसेडिङ भइरहने समयमा बिजुली आएपछि घरमा पानी चलाउन, बत्ती बाल्न वा बिर्सेर निस्किएका पंखाका बत्ती निभाउन उपयोगी हुने उनले बताए । विद्यार्थीहरूले बनाएको यो प्रविधि उनीहरू अध्ययनरत कलेज र जिल्लाका विभिन्न कार्यालयहरूले प्रयोग गर्न नाम टिपाइसकेका छन् ।
यी विद्यार्थीले वाटर लेभल कन्ट्रोलर अर्थात् ओभरहेड ट्यांकी खाली भए स्विच आफैं खुल्ने भरिए आफैं बन्द हुने प्रविधि पनि बनाएका छन् । कक्षामा समयअनुसार घण्टी बज्ने, व्यक्तिपिच्छे पंखा र बत्ती खुल्ने वा बन्द हुने प्रविधिको विकास पनि उनीहरूले गरेका छन् । विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र थप काममा प्रेरित गर्न यी दुई प्रविधि सोही कलेजले उपयोग गरेको हो । 'उपयोगी त छँदैछन् यसको बजारीकरण र विद्यार्थीलाई प्रोत्साहन दुवै होस् भनेर उनीहरूले बनाएको प्रविधि प्रयोग गरेको कलेजका सदस्य सचिव केएन पाण्डेले बताए । कलेजले प्रयोगमा ल्याएपछि विद्यार्थीहरूको प्रविधि अहिले रूपन्देहीका दुई दर्जनभन्दा बढी ठाउँमा उपयोगमा आइसकेको छ ।
विद्यार्थीहरूले रोटेटिङ विल्डिङ अथवा घुम्ने घर पनि बनाएका छन् । विकसित देशमा सूर्यको प्रकाश र हावाअनुसार घरलाई मोड्न, वस्तुशास्त्रअनुसार राख्न, अपार्टमेन्टमा बसेर सबै क्षेत्रको दृश्यावलोकन गर्न यस्ता घर प्रयोग गरिन्छ । सहरीकरण भइरहेको नेपालमा यो घरप्रतिको चासो बढेकाले यस्तो प्रविधि बनाएको सिभिल इन्जिनियरिङ गरिरहेका विद्यार्थी नवसुजित भण्डारीले बताए । तातोमा चिसो र चिसोमा तातो हुने वातावरण अनुकूलित घर र हावाअनुकूल भित्ता बनाउने प्रविधि पनि विद्यार्थीले बनाएका छन् । भूकम्परहित घर बनाउन माटो जाँच्ने प्रविधि तथा छडको क्षमता पत्ता लगाउने प्रविधि जस्ता अत्यावश्यक र व्यावहारिक प्रविधि पनि विद्यार्थीले बनाएका छन् । विद्युतीय मतदान प्रक्रियाको प्रयोग थालेको नेपालमा त्यसलाई विकसित गरी विद्यार्थीहरूले एकैपटक मतदाता र मतसंख्या गन्न सकिने प्रविधि पनि बनाएका छन् ।
पढाइको समयमा आफूले सिकेको सीप खेर नजाओस् र त्यसलाई व्यवहारमै उतार्न सकियोस् भनेर व्यावहारिक वैज्ञानिक उपकरण बनाएको विद्यार्थीहरूले बताए । घुम्ने घरका निर्माता नवसुजितले भने, 'व्यावहारिक उपकरण बनाउन सके खेर जाँदैन । त्यसैले यता लागेका हौं ।'विद्यार्थीहरूका व्यावहारिक वैज्ञानिक उपकरणको प्रचार र बजार प्रवर्द्धनका लागि लुम्बिनी इन्जिनियरिङ कलेजले मंगलबार विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । प्रदर्शनीको रूपन्देहीका करिब दुई दर्जन विज्ञान कलेजमा अध्ययनरत विद्यार्थीहरूले अवलोकन गरेका थिए ।

No comments: