News

Feb 17, 2012

मलेसियामा सहकर्मीको हत्या गर्ने नेपालीलाई १८ बर्ष कैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालाललम्पुर, फाल्गुन ५ - आफ्नै सहकर्मीको हत्या गर्ने एक नेपालीलाई यहाँको अदालतले दोषी ठहर गर्दै १८ बर्ष कैद सजाय सुनाएको छ । बिहीबार सेलाङगर राज्यको अदालतले सहकर्मी चन्द्र बहादुर दर्जीको हत्या गर्ने ओखलढुंगा घर भएका सार्कीधन पुलामी मगरलाई उक्त सजाय सुनाएको हो । उनले मादक पदार्थ सेवन गरी पाँचथर घर भएका सहकर्मी चन्द्रको गत २०१० जुन १३ मा छुरा प्रहार गरी हत्या गरेका थिए । करिब डेढ बर्षदेखि मुद्दा खेपीरहेका उनले अदालतसमक्ष दिएको बयानमा मादकपदार्थ खाएर अन्जानबस हत्या गरेको स्वीकार गरेको भाषा–अनुवादक संसारमान राईले बताए । यहाँस्थित नेपाली दुतावासले सार्कीधनको मुद्दामा सुनुवाइ हुने भन्नेबारे पहिले नै थाहापाएपनि कैद सजाय तोकीएकोबारे जानकारी आइ नसकेको जनाएको छ ।
यसैबीच हत्याकै अभियोगमा मुद्दा खेपीरहेका अर्का एक नेपालीले भने सफाई पाएका छन । भारतीय मुलकी मलेसियाली नागरिक ५० बर्षीय एम. इन्द्रा रानीको हत्या अभियोगमा मुद्दा खेपीरहेका अर्घाखाँचीका सुरजबहादुर सुनारले सफाई पाएका हुन् । मानसिक रोगीसमेत रहेका उनले रानीको गत २००९ मार्च १५ मा यामबारु भन्ने ठाउँमा हत्या गरेका जनाइएको छ । नेपालमा छँदासमेत मानसिक रोगी रहेका सुनारबाट हत्या हुनुमा ‘मानसिक असन्तुलन’ कारण रहेको ठहर गर्दै बिहीबार यहाँको अदालतले उनलाई सफाई दिएको बताइएको छ । सुनारको मानसिक स्थितिबारे लगनखेलस्थित मानसिक अस्पातालका डा.सुरेन्द्र शेरचनले समेत अदालतमा जानकारी दिएका थिए । सुनारलाई स्वास्थ्य परिक्षणका लागि हाल जोहोरबारुस्थित एक मानसिक अस्पातालमा राखिएको जनाइएको छ । मलेसियाली दैनिक पत्रिका ‘द न्यू स्ट्रेट्स टाइम्स’ मा जनाइएअनुसार परिक्षणपछि स्वदेश फर्कनका लागि उनले एकपटक सेलाङ्गर राज्यका राजाकहाँ बिन्तपत्र चढाउनु पर्ने छ । हत्या गर्ने उद्देश्यले नै हत्या भएको ठहरिएमा फाँसीको सजाय हुने एवं आत्मारक्षाका लागि गरेको ठहरिएमा जन्मकैदको सजाय हुने मलेसियाको कानुनी प्रावधान छ ।

No comments: