News

Feb 27, 2012

हङकङमा याक्थुङ साम्लो-प्रथम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका चर्चित याक्थुङ-लिम्वु) गायक धनवीर सांवाको विषेश प्रस्तुति र हङकङका स्थानीय याक्थुङ कलाकारहरु सम्मिलित सांस्कृतिक कार्यक्रम याक्थुङ साम्लो प्रथम लिरामो सांस्कृतिक विभाग र याकथुङ साक्थिमिवा सयङ को संयुक्त आयोजनामा यही २५ फेव्रुवरी २०१२, शनिवारको वेलुका जोर्डनस्थित दोहोरी सांझ रेष्टुरेण्टमा सम्पन्न भएकोछ । हङकङमा पहिलोपटक याक्थुङमय-लिम्वुमय) सांस्कृतिक कार्यक्रम गरिएको यो वास्तवमै पहिलो याक्थुङ साम्लो कार्यक्रम सावित भएको छ । कार्यक्रम यालाङवाट शुरु गरिएको थियो । त्यस्तै याकथुङ मौलिक गीतहरु, नृत्य, वीचमा हाकपारे र अन्त्यमा गीतहरु प्रस्तुत गरिएको थियो । उद्घोषणदेखि लिएर सवै प्रस्तुतीहरु लिम्वुभाषामा मात्र प्रस्तुती गरिएका थिए ।
धाननाचमा काजीमान मास्वा, कमानधोज लावती, असली वनेम र सावित्रार् इङनाम रहेका थिए । हाक्पारेमा कमानधोज लावतीले पुरुषको नेतृत्व गरेका थिए र साथ दिनेमा टिका माखिम थिए । महिलाको नेतृत्व असली वनेमले गरेकी थिईन भने साथ दिनेमा नाम्लिङ ओख्रावु र रुवी लिम्वु रहेका थिए । हाक्पारेलाई सजिव वनाउन स्टेजमा राडि ओछयाउने काम र तोङवा तथा अचार पनि राखिएको थियो । स्टेजमा पहिलो पटक देखिएका कमानधोज लावतीको प्रस्तुती दमदार रहेको थियो । अव हङकङमा असली वनेमसंग लावतीले हाक्पारे प्रस्तुत गर्दै गएमा हाक्पारेको उज्ववल भविष्य हङकङमा रहेको विष्लेषकहरुको भनाई आईसकेको पाईयो । धान नाच र हाक्पारेले श्रोताको मन राम्ररी तानेको थियो । वाल कलाकार आयुश लिम्वुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । टिका माखिम, साक्थिम योङया-भूपेन),राज कुमार आङदेम्वेले वेजोड याक्थुङगीत प्रस्तुत गरेका थिए । नेपालवाट आएका फक्ताङलुङ सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका कलाकार धनवीर सावाले उहाका चर्चित गीत लाङगेक्मा साप्फारो लगायत धेरै गीतहरु प्रस्तुत गरेका थिए । उहाले लिम्वु गीतलाई र्याप स्टायलमा पनि प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए । अव लिम्वु गीत पनि आधुनिक चरणमा प्रवेश गरिसकेछ भन्ने कुरा कम्मेट गरेको सुनिन्थ्यो ।
कार्यक्रम स्थल याक्थुङ भेषभूषामा सजिएका दर्शकहरुले खचाखच भरिएको थियो र उक्त माहौललाई वरधोज ओख्रावु-यात्रा) र गीता पालुङवार् इक्शा ले सञ्चालन गरेर भरमन्दुर रोचक वनाई सांगितिक माहौलमै रुमल्लाएका थिए । उहाहरुको प्रस्तुति अति प्रशंसनीय रहेको थियो । त्यसैले लिरामोले उहाहरुको प्रस्तुतिलाई उच्च मूल्याङकन गर्दै एङकरिङको प्रमाण पत्र प्रदान गरेको थियो । अनुभवी डिजे सुरेश पालुङवाको अनुवभवी कार्यले कार्यक्रमलाई थप रोचक वनाएको थियो ।
यो कार्यक्रम लिम्वुवान राष्ट्रिय मोर्चाको भातृ संगठन लिरामो सांस्कृतिक विभाग र याक्थुङ साक्थिमिवा सयङको संयुक्त आयोजनामा भएको थियो । लिरामो सांस्कृतिक विभागको प्रमुख र यस कार्यक्रमको संयोजक डि.वी पालुङवाले पहिलो चरणको उद्घाटन र तेस्रो चरणको प्रमाणपत्र वितरण कार्यक्रम सञ्चालन गरेका थिए । उद्घाटनको लागि प्रमुख अतिथी र विषेश अतिथी क्रमश चुम्लुङ अध्यक्ष कृष्णराज लावती र वरिष्ठ संगीतकार दिनेश सुव्वा समयमा आउन नसकेको कारण अन्य अतिथीहरु लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले व्यानर खोलेर तथा लिरामो महासचिव अविचन्द्र इङनाम र जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले जेार कलश सहितको दियोमा दियो वालेर उद्घाटन गरेका थिए । उक्त समयमा अविचन्द्र इङनामावाट स्वागत मन्तव्य खाखिएको थियो ।
त्यस्तै अन्तिम चरणको प्रमाण पत्र वितरण क्रमश प्रमुख अतिथी कृष्ण लावती, दिल पालुङवा,अविचन्द्र इङनाम र भूपेन्द्र चेम्जोङको वाहुलीवाट वितरण गरिएको थियो । सवैलाई आआफ्नो विद्या अर्न्तर्गतको प्रशंसापत्र प्रदान गरिएको थियो । समग्रमा यो याक्थुङ साम्लो कार्यक्रम ऐतिहासिक रुपमा पूर्ण सफल भएको थियो ।

No comments: