News

Feb 29, 2012

एमाले प्रतिनिधि परिषद भेलामा ८ सय ७८

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १७,एमालेले फागुन २१ देखि सुरु हुने राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा ८ सय ७८ जना सहभागी गराउने भएको छ। मंगलबार पार्टी मुख्यालय बल्खुमा स्थायी कमिटी बैठकले ८ सय ३६ जना प्रतिनिधिमा थप ४२ जना मनोनयन गर्ने निर्णय गरेको हो। बैठकले परिषदमा महिला प्रतिनिधि संख्या बढाउने निर्णय लिएको सचिव शंकर पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार बैठकले १ देखी ३ वटा निर्वाचन क्षेत्र भएका जिल्लाबाट १/१ जना, ४ देखि ६ निर्वाचन क्षेत्र भएका जिल्लाबाट २/२ जना र ७ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट ३/३ जनाका दरले महिला प्रतिनिधि थप गर्ने निर्णय लिएको छ। स्थायी कमिटीको यो निर्णयपछि भूगोलबाट प्रतिनिधित्व गर्नेमा १ सय १७ जना महिला प्रतिनिधि थप भएका छन्। बैठकले विभिन्न १६ वटा जनवर्गीय संगठनबाट पनि ३/३ जनाका दरले महिला प्रतिनिधि थप गर्ने निर्णय लिएको छ। सचिव पोखरेलका अनुसार प्रतिनिधि परिषद बैठकमा महिला प्रतिनिधि संख्या २ सय हाराहारी हुनेछ। परिषद सदस्यमा महिलाको संख्या कम भएको भन्दै महिला नेतृहरुले विरोध जनाएपछि स्थायी कमिटी बैठकले महिला प्रतिनिधि बढाउने निर्णय लिएको हो। बैठकले प्रतिनिधि परिषद बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनका साथै केन्द्रीय आयोग र विभागका गरी पाँचवटा प्रतिवेदन प्रस्तुत गर्ने निर्णय पनि लिएको छ। बुधबार पुनः बस्ने स्थायी कमिटी बैठकले मनोनीत गर्ने ४२ जना प्रतिनिधिका नाम टुंगो लगाउनेछ भने केन्द्रीय कमिटी बैठकको मिति पनि तोक्नेछ।

No comments: