News

Feb 20, 2012

वाईसीएलले पार्टी कार्यालय तथा अध्यक्ष निवास घेर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ८ - वाईसीएलमा तानिएका माओवादी लडाकु कमान्डरले स्वैच्छिक अवकाशमा जानेसरह सुविधा नदिएको भन्दै पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष पुष्पकमल दाहाल निवास घेराउ गर्ने चेतावनी दिएका छन् । वैद्य पक्षीय चार वाईसीएल लडाकुले सोमबार विज्ञप्ति जारी गरी पार्टीसमक्ष राखेका ८ बुँदे माग सम्बोधन नभएको भन्दै आन्दोलन घोषणा गरेका हुन् । 'अध्यक्ष प्रचण्डलाई ८ बुँदे माग पत्र र डिभिजन कार्यालयहरूलाई ज्ञापनपत्रहरू बुझाएकामा हालसम्म त्यसप्रति कुनै सुनुवाइ नगरी बेवास्ता गरिएको हुँदा वाईसीएलमा रहेका जनमुक्ति सेना र वाईसीएल कार्यकताको उचित व्यवस्थापनका लागि बाध्य भई चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्दछौं,' सभासदसमेत रहेकी वाईसीएल सावित्री दुराले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, 'पटक-पटक प्रधानमन्त्री र मन्त्री बन्ने कार्यहरू भए तर पार्टी र नेतालाई पहिलो स्थान र हैसियतमा पुर्‍याउन भर्‍याङ बनेको वाईसीएलका सम्बद्ध जनमुक्ति सेनाहरूको हैसियत र सुविधा धरापमा पर्दै गएको तीतो अनुभूति व्यक्त गर्न चाहन्छौं ।'उनीहरूले जनसंविधान निर्माण नभए जनविद्रोहमा लाग्ने घोषणासमेत गरेका छन् । 'यो शक्तिले पार्टी, सेना, मोर्चा र जनताको रक्षा गर्न २१ डिभिजन जनमुक्ति सेना निर्माण गर्ने, संविधानसभाको निर्वाचन सफल पार्ने, जनताको पक्षमा संविधान निर्माण गर्नमा सहयोगी र सक्रिय भूमिका खेल्ने र जनसंविधान निर्माण हुने स्थिति नदेखिए जनविद्रोहको अग्र मोर्चा सम्हाल्नेलगायत जिम्मेवारी दिइएको अवगत गराउन चाहन्छौं,' विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले पहिलो चरणमा पार्टी र लडाकु कमान्डरसँग छलफल गर्ने र दोस्रो चरणमा पार्टी कार्यालय र दाहाल निवास अनिश्चितकालीन घेराउ गर्ने घोषणा गरेका हुन् । घोषणा गरिएका आन्दोलनहरूमा फागुन १४ गते पार्टीभित्र देखिएका विकृति विसंगतिका विरुद्ध भन्डाफोर कार्यक्रम गर्ने, फागुन १५ देखि २०६८ फागुन २० सम्म पार्टी केन्द्रीय समितिका सदस्यदेखि माथि र जनमुक्ति सेना नेपालका कमान्डरहरूको निजी सवारी साधनलाई चल्न नदिने, फागुन २१ र २२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा घेराउ गर्ने र फागुन २३ देखि अनिश्चितकालीन रूपमा अध्यक्ष निवास लाजिम्पाट घेराउ कार्यक्रम छन् । माओवादी स्थायी समिति बैठकले वाईसीएलमा आएका लडाकुलाई पार्टी कोषबाट आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय गरेको थियो । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले करिब तीन हजार लडाकु वाईसीएलमा ल्याएको थियो ।

No comments: