News

Feb 17, 2012

एसएलसी परीक्षाका लागि १ हजार ७४८ परीक्षा केन्द्र निर्धारण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, फाल्गुन ५,परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ७ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि मुलुकभर एक हजार ७४८ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । यसवर्ष परीक्षा दिने पाँच लाख २८ हजार २५७ परीक्षार्थीका लागि उक्त परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । यसवर्ष परीक्षा केन्द्र निर्धारण गर्दा सुगम र दुर्गम क्षेत्रलाई पायक पर्ने गरी निर्धारण गरिएको उनले बताए । विद्यार्थी सङ्ख्या र आवश्यकतालाई हेरेर कार्यालयले केन्द्र निर्धारण गरेकाले यसवर्ष परीक्षार्थीलाई परीक्षा दिन धेरै टाढा जानुनपर्ने कार्यालयको दाबी छ । कार्यलयले गत वर्ष चार लाख ९६ हजार २४३ जना परीक्षार्थीका लागि एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरेकोमा गत वर्षभन्दा यसवर्ष ७६ वटा परीक्षा केन्द्र थप भएका छन् । परीक्षार्थीको सङ्ख्या बढेको र नजिक केन्द्र राख्नुपर्ने आवश्यकताअनुसार यसवर्ष केन्द्र बढाइएको हो । त्यसैगरी कार्यालयले यसवर्ष एसएलसी परीक्षाका लागि आफू अध्ययनरत विद्यालयबाट फाराम नभरी अन्य जिल्लाबाट फाराम भर्ने परीक्षार्थीको परीक्षा आवेदन रद्द गरेको छ । कार्यालयको बोर्ड बैठकले आफू अध्ययनरत विद्यालयबाट एसएलसी परीक्षा नदिई दुर्गमका जिल्लामा गएर परीक्षा दिन फाराम भर्ने विद्यार्थीको फाराम रद्द गर्ने निर्णय गरेको कार्यालयका उपनियन्त्रक रेग्मीले बताए । कार्यालयले गरेको छानविनको क्रममा विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीले सोलुखुम्बु जिल्लाको बुद्ध माध्यमिक विद्यालयबाट एसएलसीको फाराम भरेको पाइएपछि ३० परीक्षार्थीको फाराम रद्द गरिएको छ ।

No comments: