लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १७ - पहिलो पटक प्याराग्लाइडिङ देख्दा लाक्पाछिरी शेर्पाले एउटा सपना देखेका थिए, घरमाथिका अग्ला खुम्बु हिम शृंखलाको चुचुराबाट त्यसमा बसेर उड्ने । सगरमाथाको तेस्रो सफल आरोहणपछि उनले थाहा पाए, प्याराग्लाइडिङ भयानक गहिरा हिम खाल्डो हुँदै चुचुराहरूबाट तल र्झने सबभन्दा सजिलो, छिटो र आकर्षक तरिका हो । अक्टोबर २०१० मा लाक्पाले एउटा प्याराग्लाइडर भाडामा लिए । केही किला ठोकेर पाल लगाए । अनि घरमाथिको डाँडाबाट उडाए । त्यसबेला उनी झन्डैले एउटा रूखमा ठोक्किएका । अलिकतिले केही भएन । तर प्याराग्लाइडरको पखेँटा नराम्ररी कच्याककुचुक भयो । त्यो बनाउन र प्याराग्लाइडिङ सिकाउने गुरु खोज्न लाक्पा पोखरातिर हान्निए, जहाँ बग्रेल्ती प्याराग्लाइडर भेटिन्छन् । लाक्पा वर्षौंअघि एउटा टापुमा भेटिएका सानोबाबु सुनुवारकोमा पुगे । उनले लाक्पाको ग्लाइडर मर्मत गरिदिए । अनि दुईले एउटा रोमाञ्चकारी योजना पनि त्यहीं बनाए ।
योजनाअनुसार विश्वकै अग्लो शिखर सगरमाथा चढ्नु पर्थ्यो, त्यहाँबाट सकेसम्म पर प्याराग्लाइडिङ गरेर उड्नु पर्थ्यो, साइकल चढेर खोलाहरू नदीमा मिसिने ठाउँमा पुग्नु पर्थ्यो, नदीमा कायाक (एक खाले रोमाञ्चकारी ढुंगा, जसमा एक जना मात्रै बस्न र चलाउन मिल्छ) गर्दै सीमा पार गरी भारतीय नदी गंगामा पुग्नु पर्थ्यो, अनि गंगामा डुंगा खियाउँदै भारतीय समुद्रसम्म पुग्नु पर्थ्यो । खेल, साहस र मित्रताको संयोजनले बनेको यो योजना आफैंमा अद्वितीय थियो । २८ वर्षीय सानोबाबुसँग हिमाल चढेको अनुभव थिएन । ३९ वर्षीय लाक्पाले कहिल्यै कायाक गरेका थिएनन् । उनलाई पौडिनसम्म पनि आउँदैनथ्यो । सन् २०११ को अपि्रलमा यी दुईले आवश्यक उपकरणहरू भाडामा लिए । रोमाञ्चक यात्राका लागि आधारभूत योजना बनाए । अनि सगरमाथा चढ्न निक्लिए । गएको मे २१ मा सर्वाेच्च शिखरबाट प्याराग्लाइडर उडाउनेमा उनीहरू तेस्रो थिए । ८ हजार ८ सय ६५ मिटर अग्लो ठाउँबाट चराझैं उडेर उनीहरूले नयाँ विश्व रेकर्ड पनि राखे ।
कोसी नदीमा कायाक गर्दागर्दै सानोबाबु एउटा भुमरीमा परे, लाक्पा डुबे । तर तिनले त्यो कसैगरी पार गरे । यात्रा जारी राखे । योजनाअनुसार अन्तिममा डुंगा खियाउँदै भारतीय समुद्र पार गरेपछि उनीहरू अपरिचित देशमा पुगे । त्यहाँ उनीहरूको घाँटीमा चक्कु तेस्र्याइयो र उनीहरू लुटिए । फलफूलको रूखका बोक्रा र पात खाएर उनीहरूले ज्यान जोगाए । ८ सय ५० किलोमिटर दूरीमा डुंगा खियाएपछि उनीहरू बंगालको खाडीमा पुगे । गएको जुन २७ मा उनीहरू सगरमाथादेखि भारतीय समुद्रसम्म पुग्ने पहिलो यात्री भए ।
'समुद्रको किनारमा पुगेपछि हामी निकै अत्तालियौं,' सानोबाबु भन्छन्, 'किनभने हामी ठूलठूला राता बिच्छीहरूबाट घेरिएका थियौं ।'
पछि उनले त्यसको तस्बिर साथीहरूलाई देखाएपछि पो थाहा पाए, उनले खतरनाक बिच्छी भनेका ती राता प्राणी निरापद गँगटाहरू रहेछन् । यी दुईलाई अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ समुदायले कदर गर्यो । नेपाली सञ्चार माध्यमले राष्ट्रिय नायक भनेर प्रचार गरे । पश्चिमा रोमाञ्चक यात्रीहरूले उनीहरूको साहसिक, सरल र एकदमै कम खर्चमा गरिएको यात्राको प्रशंसा गरे । यो यात्रामा कुनै सामाजिक सञ्चारको अभियान थिएन, व्यावसायिक घरानाको प्रायोजन थिएन, रोमाञ्चकारी यात्राको कुनै वेबसाइट पनि थिएन । थियो त अत्यावश्यक सामग्री थियो । अनि थियो नयाँ दृष्टि, सिर्जना र मित्रता ।
No comments:
Post a Comment