News

Feb 13, 2012

बहिष्कारका बीच तीन विधेयक संसदमा प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १- सत्तारुढ दल एनेकपा (माओवादी)को एक पक्षबाट बहिष्कार हुँदाहुँदै व्यवस्थापिका-संसदको बैठकमा आज तीनवटा विधेयक पेश भएका छन्। बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सङ्गठित अपराध निवारण विधेयक, २०६८ प्रस्तुत गरे। गृहमन्त्रीलाई संगठित अपराध निवारणसम्बन्धी विधेयक प्रस्तुत गर्न सभामुख सुवास नेम्वाङले अनुमति दिनासाथ एनेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्य पक्षधर सभासद् एकराज भण्डारीलगायतले संसदको बैठक बहिष्कार गर्दै बाहिरिएका थिए। बहिष्कारपछि एनेकपा (माओवादी)का तर्फबाट ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका मन्त्री पोष्टबहादुर बोगटीले पारस्परिक कानुन सहायता विधेयक २०६८ र सुपुर्दगी विधेयक २०६८ प्रस्तुत गरे। एनेकपा (माओवादी) वैद्य पक्षले तीनवटै विधेयक पार्टी हितविपरित साम्राज्यवादी शक्तिको प्रभावमा परेर ल्याइएको र माओवादीको जनयुद्ध दिवसकै दिन संसदमा प्रवेश गराएर आपत्तिजनक काम गरेको ठहर गरेको छ। आजको बैठकमा परिवर्तित सन्दर्भमा नेपालको विदेश नीतिसम्बन्धी प्रतिवेदन २०६८ समेत पेश गरिएको थियो। अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिका सभापति पद्मलाल विश्वकर्माले प्रतिवेदन संसदमा प्रस्तुत गर्दै प्रतिवेदनको औचित्यमाथि प्रकाश पारेका थिए। यसैगरी आजै महिला, बालबालिका र समाजकल्याण समितिका सभापति सन्ध्यादेवीले रुपन्देहीको बुटवल निवासी 'कविता थापालाई स्थानीय जनजागरण आमा समूहले यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको' घटनाबारेको प्रतिवेदन संसदमा पेश गरिन्। सभापति देवीले महिला जिल्ला समवन्य समिति गठन एवं कार्यविधि र संरचनाको अध्ययनसम्बन्धी प्रतिवेदनपनि संसदमा पेश गरिन्। व्यवस्थापिका-संसदको आजको बैठकमा सार्क वातावरण सहयोगसम्बन्धी महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। बैठकमा विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमलाले आणविक तथा प्रविधिसँग सम्बन्धित अनुसन्धान विकास तथा प्रशिक्षणका निमित्त गरिएको यस क्षेत्रीय सहयोग सम्झौतालाई अनुमोदन गर्न प्रस्ताव गरेकी थिइन्। व्यवस्थापिका-संसदको अर्को बैठक यही फागुन ५ गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ।

No comments: