News

Feb 10, 2012

वैवाहिक भिसामा आएकी नेपाली महिला दक्षिण कोरियामा अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रघु त्रिपा
कोरियन पुरुषसँग बैवाहिक सम्बन्ध गाँसेर दक्षिण कोरिया आएकी नाम परिवर्तित आशा गुरुङ नाम गरेकी एक महिला अलपत्र परेको कोरियन संचार माध्यमले जनाएको छ। कोरियाको प्रशिद्ध टेलिभिजन केबिएस वनले गत साता ति महिलाको अवस्था बारे समाचार प्रसारण गरेको थियो। संचार माध्यमले ति महिलाले आफ्ना श्रीमानबाट शारीरिक मानसिक हिंसाका साथै यौन दुव्र्यवहार समेत भोग्नुपरेको जनाएको छ। ९ महिना अघि बुसान स्थायी घर भएका एक कोरियन पुरुषसँग बिवाह गरेर कोरिया आएकी आशाको पेटमा ८ महिनाको बच्चा समेत रहेको छ। गर्भवती समेत रहेकी उनलाई लामो समय देखी घरभित्र थुनेर राखेको खाना खान नदिएको तथा चरम यातनाबाट बच्न बुसानबाट भागेर थेगु स्थित चर्चमा आश्रय लिन पुगेकी छिन्। चर्चको सेल्टरमा कोरियन श्रीमानबाट यातना भोगिरहेका अन्य महिलाहरु पनि आश्रित छन्।
यता दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले यस विषयमा कुनै जानकारी नभएको बताएको छ। कार्यवाहक राजदूत राजाराम बर्तौलाले पीडित महिलाको बारेमा बुझेर तुरुन्त आवश्यक कदम चाल्ने बताउनुभयो। समस्याको निराकरण गर्न दक्षिण कोरियामा भएका विभिन्न नेपाली तथा कोरियन सरकारी तथा गैरसरकारी निकायहरुले विविध पहल नगरेका होइनन्। तर पनि समस्याको उल्लेख्य समाधान भएको देखिदैन। दूतावास नेपाली समूदायको समस्या प्रति चिन्तित देखिए पनि आवश्यक जनशक्ति तथा साधन श्रोतको अभावमा त्यो चिन्ता गोहीको आँसु जस्तो बनेको छ।
हालै दक्षिण कोरियामा वैवाहिक भिसामा धेरै महिलाहरु आइपुगेका छन्। ती मध्य धेरै कागजी विवाह गरेर गएका छन्। दलालहरुको माध्यमबाट मोटो रकम तिरेर कागजी बिवाह गरी कोरिया आउने महिलाहरु बिभिन्न समस्यामा परेको पाइन्छ। भने अनुसारको काम नपाइने भिसा नविकरण गर्ने बेलामा विवाहको कागज गरिदिने नक्कली जोडिले फेरि मोटो रकम माग्ने नक्कली विवाह गरेको खुलासा भएमा थुनामा परी देश निकाला हुनुपर्ने आदि समस्या भोग्नुपर्ने हुन्छ।
सक्कली नै विवाह गरेकाहरु पनि आफू भन्दा धेरै पाकासँग विहे भएका शिक्षित नेपाली युवतीहरु यहाँका अशिक्षित र निम्न जीवन स्तर भएका कोरियनहरुसँग बिवाह गरेर आएका छन्। कोरियनसँग बिवाह गरेका एकाध बाहेक प्राय सबैको घरबार राम्रो हुन सकेको छैन तसर्थ तिनीहरु कि त भागेर अवैधानिक भई अनेकौं समस्यामा परेका छन् कि त अत्यन्तै पिडामा बसेका छन्। तसर्थ वैवाहिक भिसामा दक्षिण कोरियामा आउन तमतयार महिलाहरुलाई हतोत्साहित गर्नुपर्छ र म्यारिज ब्युरोको नाममा मान्छेको दलाली गर्ने गिरोहलाई कडा भन्दा कडा कारवाही गर्न पहल गर्नु पर्ने आवश्यकता देखिन्छ।

No comments: