News

Feb 8, 2012

बैंकको दबाबले जग्गाको मूल्य घट्न थाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २५ - बिक्री गर्न चाप परेपछि उपत्यकाभित्र घरजग्गाको मूल्य घट्न थालेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर 'व्यापार' का लागि 'होल्ड' गरिएका घरजग्गाको मूल्य घट्न थालेको हो । बैंकमा ब्याज बुझाउन सक्ने क्षमता नभएपछि सस्तोमा बिक्री गर्न बैंकले दबाब दिइरहेका छन् । यही दबाबका कारण पछिल्लो महिनामा मूल्य घटेरै बिक्री हुन थालेको बैंक तथा वित्तीय संस्था बताउँछन् । सबैभन्दा धेरै चाप प्लटिङ गरेर जग्गा बिक्री गर्नेलाई परेको छ । 'लिलामीमा लैजानभन्दा व्यवसायीलाई नै मूल्य घटाएर बिक्री गर्न बैंकहरूले सुझाव दिइरहेका छन्,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले भने, 'कम मूल्यमा कारोबार हुन थालेको छ ।' अन्य कुनै तरिकाबाट बिक्री गर्न नसके मात्र बैंकले लिलामीमा लैजाने गरेको उनी बताउँछन् । 'लिलामीको सूचना अन्य विकल्पबाट काम नभएपछि आउने गर्छ,' उनले भने । ब्याज तिर्न नसकेपछि तीन महिनामा बैंकले पहिलो पटक ग्राहकलाई मौखिक जानकारी दिने गर्छन् । मौखिक जानकारीबाट पनि ब्याज नउठे बैंकले पत्र लेख्ने गर्छन् । पत्र पठाएको एक वा दुई महिनासम्म पनि काम नभएपछि ३५ दिने सार्वजनिक सूचना निकाल्ने गरिन्छ । सूचना प्रकाशित भएको ३५ दिनपछि मात्र लिलामीको काम सुरु गरिन्छ ।

No comments: