News

Feb 22, 2012

चिट चोर्न नपाएपछि परीक्षार्थीले उत्तरपुस्तिका जलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजविराज (सगरमाथा), फाल्गुन १० - परीक्षामा चिट चोर्न नपाएका कारण सप्तरीको राजविराजमा परीक्षार्थी मङ्गलबार तोडफोडमा उत्रिएका छन् । राजविराजस्थित युनिक एकेडेमी र सप्तऋषि मल्टिपल कलेजका करिब ७० परीक्षार्थीले कडा जाँच भएको भन्दै विरोधस्वरुप राजविराज–९ स्थित क्षितिज कलेजमा तोडफोड गरेका हुन् । परीक्षा सुरु भएको एक घन्टापछि परीक्षा बहिष्कार गरी विद्यार्थीले सम्पूर्ण उत्तरपुस्तिका जलाउनाका साथै कलेजको झ्यालका सिसा, डेस्क, बेन्च तथा कुर्र्सी तोडफोड गरेको कलेजले जनाएको छ । परीक्षा व्यवस्थित गर्ने बहानामा अनावश्यक तनाव दिइएको तथा पटक–पटक जाँच गरी दुःख दिएको भन्दै परीक्षा बहिष्कार गरिएको परीक्षार्थीले बताएका छन् । पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल साइन्सअन्तर्गत बिपिएच (ब्याचलर इन पब्लिक हेल्थ) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले दोस्रो दिनको परीक्षा बहिष्कार गरी आगजनी र तोडफोड गरेका हुन् । सप्तरीमा भएको घटनाका कारण विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले मङ्गलबारको परीक्षा रद्द गरेको जनाएको छ ।

No comments: