News

Feb 19, 2012

प्रधानमन्त्रीको निर्देशनमा प्रजातन्त्र दिवस मनाइएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ७ - परम्पराकैरुपमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक मनाइएन । प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकियो । 'सरकारले आवश्यकता नठानेकाले नमनाएको हो,' गृहका एक अधिकारीले भने । २००७ सालको क्रान्तिलाई बिर्सन खोजेको ती सरकारी अधिकारीको बुझाइ छ । त्यसो त प्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्तिको प्रतीक मानिने सहिदगेट गएका थिएनन् । त्यतिमात्र होइन उनको सरकारले सहिद गेटबाट राजा त्रिभूवनको सालिक हटाउने निर्णय गर्‍यो । तर सर्वोच्चको फैसलाले कार्यान्वयन भने रोकिएको छ । प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले विरोध गरेका छन् । 'कार्यक्रमको निम्तो आउँछ भनेर कुरेर बसेको थिएँ,' कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने । एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रजातन्त्र दिवस वेवास्ता गरेर सरकारले 'राम्रो काम नगरेको' टिप्पणी गरे । यसअघिका प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको संयोजकत्वमा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन तयारी गरिन्थ्यो । सदस्यसचिव गृह सचिव हुन्थे । टुँडिखेलमा विशेष कार्यक्रम गरिन्थ्यो । राष्ट्रपति विशिष्ट अतिथि, प्रधानन्यायाधीश, सभामुख, विपक्षी दलका नेता, मन्त्री, सचिवलगायतको उपस्थिति हुन्थ्यो । मूल समारोह समितिअन्तर्गत मञ्च, कार्यक्रम उपसमिति, परिसंवाद समिति हुन्थ्यो । देशभर सभा, सम्मेलन, अन्तर्क्रिया र लोकगीत प्रतियोगिता हुन्थे ।

No comments: