News

Feb 10, 2012

सरकारको विरोधमा माओवादीद्वारा मालपोत कार्यालयहरुमा ताला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुम, माघ २७- 'जनसत्ता' ले पास गरेका घरजग्गालाई वैधानिकता दिनुपर्ने माग गर्दै माओवादीले विभिन्न जिल्लास्थित मालपोत कार्यालयमा ताला लगाएका छन्। युद्धकालमा माओवादीले स्थापना गरेको जनसत्ताले पास गरेका घरजग्गालाई वैधानिकता दिने पुस २८ गतेको मन्त्रिपरिषद् निर्णय माघ २६ गते सरकारले फिर्ता लिएको थियो। यही पछिल्लो निर्णयको विरोधमा माओवादीहरुले अनिश्चितकालीन तालाबन्द गरेका हुन। तालाबन्दीसँगै मालपोत कार्यालयहरुमा पार्टीको झन्डा गाडिएको छ। माओवादीले रुकुम, रोल्पा, सल्यानलगायतका जिल्ला मालपोत कार्यालयमा तालाबन्दी गरेपछि गाउँबाट घरजग्गा पास गर्न आएका सेवाग्रही मर्कामा परेका छन्। कर्मचारीले हाजिर नै गर्न पाएका छैनन्। कार्यालय बन्द भएपछि मालपोत कर्मचारी कार्यालय परिसरमा भौतारिका छन्।
घर जग्गा र जनसत्ताको लिखतलाई वैधानिकता दिनेबारे पुनर्विचार गर्न उनीहरुले ७ दिनको अल्टिमेटम पनि दिएका छन्। आफ्नै पार्टी नेतृत्वको सरकारले वैधानिकता दिने निर्णय फिर्ता लिएपछि आन्दोलनमा उत्रिएका माओवादीले नेपाली कङ्ग्रेस र एमालेलगायत पार्टीविरुद्ध सङ्घर्ष गरिने बताएका छन्। घरजग्गा पासलाई वैधानिकता दिनु जमिनदार र पुँजीपति वर्गसँगका लडाई भएकाले आन्दोलन नरोकिने माओवादी पोलिटब्युरो सदस्य एवम् मगरात राज्य समिति इन्चार्ज हेमन्तप्रकाश ओलीले बताए। घरजग्गासम्बन्धी बिहीबार भएको मन्त्रिपरिषदको निर्णय जनपक्षीय नभएकाले आन्दोलन गर्नुपरेको उनको भनाई छ। 'जनताको सत्ताले गरेको पासलाई जसरी पनि वैधानिता गराएरै छाड्छौं', नेता ओलीले भने- हाम्रै पार्टीको नेतृत्वको सरकार भए पनि सरकारको गलत काम भएकाले आन्दोलनमा उत्रिएका हौं।'
रुकुम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले मगरातमा मात्रै १० हजारभन्दा बढीको घरजग्गा पास भएकाले जनतालाई दोहोरो दुःख दिन नहुने बताए। माओवादीले नाराजुलुससहित जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका छन्। आफैं जनसत्ता निर्माण गरेर प्रयोग गर्ने तर, अहिले अवैधानिक भन्ने विरुद्ध आफ्नो आन्दोलन भएको माओवादी रोल्पाका सेक्रेटरी चुडामणि ओलीले बताए। 'जमिनदारसँग मिलेर जनताको बलिदानबाट निर्माण भएको जनसत्ता र जनसत्ताको कामलाई अवैधानिक भन्ने हाम्रै पार्टी नेतृत्वको सरकारको गलत निर्णय हो', ओलीले भने- यस्तो जनविरोधी निर्णय गर्ने जुनसुकै सरकारको पनि प्रतिकार गर्न तयार छौं।

No comments: