News

Feb 8, 2012

हिंसाका कारण १५ दिनमा ११ नेपाली महिलाको ज्यान गयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २५,हिंसाकै कारण १५ दिनमा ११ जना महिला तथा बालिकाले ज्यान गुमाउनुपरेको ओरेकले जनाएको छ। यी ११ जनामध्ये धेरै घरेलु हिंसाका कारण हत्या गरिएका छन् भने केही महिलाले सामाजिक कुरीति र कुसंस्कारका कारण छाउपडी बार्दा गोठमा मृत्युवरण गर्नुपरेको उसले जनाएको छ।
केहीले चाहिँ दाइजो कम भएका कारण ज्यान गुमाएको तथा केही बालिका तथा महिलाले यौन दुर्व्यवहार र बलात्कारका शिकार भई ज्यान गुमाएका ओरेकको विज्ञप्तिमा उल्लेख छ। महिला भएकै कारण विभिन्न खालका यातना सहँदै मारिनुमा राज्य पनि दोषी छ भन्दै उसले छाउपडी प्रथालाई २०६३ वैशख २६ गतेको मन्त्री परिषद्को बैठकले कुरीति घोषणा गरी निर्देशिका जारी गरिसकेको अवस्थामा पनि २ जना महिलाले यही महिना ज्यान गुमाएकाप्रति उसले आपत्तिसमेत जनाएको छ।
यौनजन्य हिंसा, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी जस्ता सामाजिक कुरीति र कुसंस्कार र घरेलु हिंसाका कारण करिब १५ दिनमा ११ जना महिला तथा बालिकाको हत्या भएकोप्रति पुन: सबै निकायको ध्यानकर्षण गराउँदै सरकारी निकाय, नागरिक समाज, सञ्चार माध्यम, राजनीतिककर्मीप्रति महिला हिंसा अन्त्य गर्न आवश्यक संयन्त्रको विकास गराउँदै दोषीलाई कडाभन्दा कडा सजाय र आगामी यस्तो अपराध हुन जोगाउन आह्वान पनि गरेको छ।
हिंसारहित समाजमा सम्मानपूर्वक बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो भन्दै विज्ञप्तिमा यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुले पनि पुष्टि गरेका बताइएको छ। त्यसैगरी नेपालले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धि १९९१ मा, महिला अधिकारको दमन र यौन शोषणसम्बन्धी महासन्धि १९९५ मा अनुमोदन गरीसकेको अवस्था छ भन्दै ओरेकले भनेको छ- महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनदेखि लिएर महिला हिंसा अन्त्यका लागि नेपालका विभिन्न ऐन तथा कानुन र सर्वोच्चले गरेको निर्देशनमा पनि महिला हिंसा गर्नु अपराध हो भनिएको छ।

No comments: