News

Feb 23, 2012

नेपालमा २५ प्रतिशत जनता अझै गरिब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ११ - नेपालमा अझै पनि २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सबैभन्दा धेरै गरिब मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रमा छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल जीवनस्तर सर्भेक्षणमा नेपालका २५ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको जनाइएको हो । सहरमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन् । सर्भेक्षणमा क्षेत्रगत हिसाबमा सबैभन्दा बढी गरिब सुदूरपश्चिममा ४५.६१ प्रतिशत र त्यसपछि मध्यपश्चिम क्षेत्रमा ३१.६८ प्रतिशत छन् । पश्चिमाञ्चलमा २२ प्रतिशत, मध्यमाञ्चलमा २१प्रतिशत र पूर्वाञ्चलमा २१ प्रतिशत गरिब रहेको जनाइएको छ । कुल जनसङ्ख्यामा सुदूरपश्चिममा ८.८ प्रतिशत र मध्यपश्चिममा १३ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कमा छ । त्यस्तै, भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा सबैभन्दा बढी गरिब छन्, जहाँ ४२ प्रतिशत गरिब छन् भने पहाडी क्षेत्रमा २४ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत गरिब छन् ।
यसैगरी, गरिबीसँगै कृषियोग्य जमिन पनि क्रमशः घट्दै गएको छ । गरिबीको रेखामुनि रहेका २५ प्रतिशत जनतामध्ये २२ प्रतिशतसँग जग्गाजमिन छैन । दुई हेक्टरसम्म भएका १९ प्रतिशत र सोभन्दा माथि भएका छ प्रतिशतमात्रै छन् । जग्गा नभएकामध्ये ग्रामीण क्षेत्रमा २८ प्रतिशत र सहरी क्षेत्रमा १७ प्रतिशत जनता भएको सर्भेक्षणमा उल्लेख छ । गरिबमा पनि सबैभन्दा बढी पहाड र तराईका दलित छन् भने कममा पहाडका ब्राह्मण र नेवार जाति छन् । पहाडी दलित ४४ प्रतिशत र तराईका दलित ३८ प्रतिशत गरिबीको रेखामुनि छन् । सर्भेक्षणमा विगतभन्दा अहिले १५ देखि ५९ वर्ष उमेरको जनसङ्ख्या बढेको जनाइएको छ । महिला घरमूली भएका परिवारको सङ्ख्या पनि दोब्बर भएको छ । यस्तै, बिजुलीबत्ती र शौचालयको पहुँचमा वृद्धि भए पनि आयोडिनयुक्त नुनको प्रयोगमा भने कमी आएको जनाइएको छ । यस्तै, मध्यपश्चिम क्षेत्रको १५ वर्षमाथिको साक्षरता दर ५४ प्रतिशत छ भने १६ प्रतिशत विद्यार्थी निजी स्कुल तथा कलेजमा जाने गरेको पाइएको छ ।
यस क्षेत्रमा पाँचमा एकजना दीर्घरोगी पाइएका छन् भने तीनमा एकजनालाई अन्य रोग लाग्ने गरेको छ । त्यतिमात्र होइन अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा चिकित्सकसँग जँचाउन जानेहरू पनि सबैभन्दा कम १७ प्रतिशत मात्रै रहेको सर्भेक्षणमा उल्लेख छ ।
यति हुँदाहुँदै पनि परिवार नियोजनको साधन प्रयोग गर्नेमा मध्यपश्चिम क्षेत्र सबैभन्दा अगाडि छ । यहाँ ४१ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्छन् । यसैगरी, यस क्षेत्रमा २६ प्रतिशत मानिस बसाइँ सरेर आएका छन् । यस क्षेत्रका बासिन्दा सडक सुविधाप्रति बढी असन्तुष्ट देखिएको सर्भेक्षणमा उल्लेख छ । नेपालमा ४१ प्रतिशत बालबालिका होचापुड्का भएको पनि तथ्याङ्कमा जनाइएको छ । यस्तै, ३१ प्रतिशत बालबालिकाको उमेर अनुसारको तौल नभएको र १४ प्रतिशतको उचाइ अनुसारको तौल नभएको पाइएको छ । सर्भेक्षणले बिजुली, पिउने पानी, सडक सुविधामा नेपाली बढी असन्तुष्ट भएको पाइएको देखाएको छ । जीवनस्तर सर्भेक्षणले देशको गरिबीको स्थिति तथा गरिबीका अनुमान अद्यावधिक गरेको र गरिबीको सूचक मापनबारे प्रस्ट पारेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले दाबी गरे ।

No comments: