News

Feb 27, 2012

आयल निगमको गेटमा बम विस्फोट, तीनको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १५ - नेपाल आयल निगमको कार्यालय बबरमहलस्थित मुख्य कार्यालयको मूलढोका नजिक १ बजेर ५ मिनेटमा बम विस्फोट हुँदा तीन जनाको मृत्य भएको छ । दुई जनाको घट्नास्थलमै र १ जनाको वीर अस्पतालमा मृत्यु भएको हो । थप सात घाइते छन् । मृतकमध्ये एक जना धादिङका कृष्णबहादुर तामाङको मात्र सनाखत हुन सकेको छ । घाइते हुनेमा वाशु श्रेष्ठ (ठेगाना खुलेको छैन) आयल निगमका कर्मचारी विष्णुप्रसाद तुलाधर, भक्तपुरका रघुनाथ खड्का, बारका सोम तामाङ, धादिङका लालबहादुर तामाङ, अछामका मानबहादुर कुँवर र भीमबाहदुर कुँवर रहेका छन् । सोमबाहदुर तामाङको अवस्था गम्भीर रहेको छ । दिउँसो तीन बजेपछिमात्र घटनास्थलबाट शव उठाइएको छ । बम विस्फोटन भएको स्थान मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहरदरबार करिब तीन सय मिटरको दूरीमा रहेको छ । जिल्ला अदालतसँगै जोडिएको हरदम सुरक्षाकर्मीले पहरा दिने स्थानमा उक्त विस्फोट भएको हो । यसैबीच गृहमन्त्री विजयकुमार गच्छदारले घटनास्थलको निरीक्षण गरेका छन् । सरकारले दुई दिनअघि मात्र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । विस्फोटन हुने बेलामा संसदको सार्वजनिक लेखा समितिमा समेत पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छलफल भइरहेको थियो । घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थित भइसकेको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले घटनास्थललाई घेराउ गरेको छ । घटनास्थलको ३० मिटर वरपर सुरक्षाकर्मीले सिल गरेका छन् । हातमा सकेट बम लिएर विस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान छ । संयुक्त जातीय मुक्तिमोर्चाका विश्वक्रान्तिले घटनाको जिम्मेवारी लिएका छन् ।

No comments: