लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, फागुन २८ - अन्तर्राष्ट्रिय वित्तीय संकटका कारण माग कम भएर निर्यात घटेपछि चीनको व्यापार घाटा उच्च भएको छ। अन्तर्राष्ट्रिय व्यापारबाट अर्थतन्त्र सुदृढ बनाउँदै अगाडि बढेको चीनलाई उच्च व्यापार घाटाले अप्ठेरोमा पार्ने विश्लेषक बताउँछन्। 'समग्र आर्थिक अवस्था द्रुत गतिमा कमजोर बन्दै गएको देखिन्छ,' नोमुरा होल्डिङ कम्पनीका अर्थशास्त्री झिवेइ झाङले भने, 'अर्थतन्त्र सरकारले अपेक्षा गरेभन्दा बढी सुस्त भएको छ।'तथ्यांकअनुसार गत फेब्रुअरीमा चीनको व्यापार घाटा ३१ अबए ४८ करोड अमेरिकी डलर पुगेको छ। यो एक दशक यताकै ठूलो घाटा हो। जनवरीमा अन्तर्राष्ट्रिय व्यापारबाट चीनलाई २७ अर्ब २८ करोड डलर बचत भएको भन्सार विभागले जनाएको छ। अर्थशास्त्रीले चिनियाँ नयाँ वर्षमा आपूर्ति केही अवरुद्ध भएकाले निर्यात घट्ने अनुमान गरेका थिए। विभागले शनिबार सार्वजनिक गरेको व्यापार घाटाको तथ्यांक अर्थशास्त्रीले अनुमान गरेभन्दा निकै बढी हो। अर्थशास्त्रीले व्यापार घाटा ८ अर्ब ५० करोड डलर हुने अनुमान गरेका थिए।
गत बुधबारको पत्रकार सम्मेलनमा वाणिज्य मन्त्री चेन डेमिङले जनवरी र फेब्रुअरीमा निर्यात व्यापार ७ प्रतिशतले बढ्ने बताएका थिए। यसैका आधारमा अर्थशास्त्रीले समग्र व्यापार घाटा प्रक्षेपण गरेका हुन्। फेब्रुअरीमा घाटा भए पनि वर्षभरि चीनको अन्तर्राष्ट्रिय व्यापार बचतमै रहने अनुमान अर्थशास्त्रीले गरेका छन्। वर्षको सुरुमा कच्चा पदार्थ आयात बढ्ने र अन्ततिर तयारी वस्तु निर्यात हुने भएकाले समग्रमा चिनियाँ व्यापार सन्तुलन सकारात्मक रहने अनुमान गरिएको हो। पछिल्ला वर्ष चीनको व्यापार बचत कम हुदै गएको छ। यसले सरकारलाई अन्तर्राष्ट्रिय बजारप्रतिको निर्भरता घटाउँदै लैजाने र आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्न दबाब दिएको छ। पूर्ववाणिज्य सहायक मन्त्री वेइ जिङ्गुवाले वैदेशिक व्यापार यस वर्ष चीनका लागि चुनौतिपूर्ण हुने बताए। यस वर्ष निर्यात ३ प्रतिशतले मात्र बढ्ने अनुमान उनले गरेका छन्। अघिल्लो वर्ष यो २० प्रतिशतले बढेको थियो।
-वाल स्ट्रिट जर्नल
No comments:
Post a Comment