लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २८,एकीकृत माओवादीका शीर्षनेताले पार्टी दुई/दुईपटक सरकार नेतृत्वमा रहँदा पनि बेपत्ता नागरिकको खोजी गर्न नसकेको भन्दै बेपत्ता परिवारसामु आत्मालोचना गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बेपत्ता परिवारसँग अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य र प्रधानमन्त्री बाबुराम भट्टराईले बेपत्ता खोज्न नसक्नु आफ्नो कमजारी रहेको भन्दै आत्मालोचना गरेका हुन्। उनीहरूले 'शान्ति प्रक्रियाको काम नसकिएकाले बेपत्ताको खोजी गर्न नपाएको' प्रस्टीकरण पनि दिए। 'दुई/दुईपटकसम्म सरकारको नेतृत्व गर्यौं। बेपत्ता नागरिकलाई सार्वजनिक गर्न सकिएन', अध्यक्ष दाहालले भने, 'तपाईंहरूको पीडामा मलम लगाउन सकेनौं।' शान्ति प्रक्रिया नसकिएकाले अहिले बेपत्ता नागरिक खोजबिन गर्न नसकिएको हो,' उनले भने। परिवर्तन रोक्न खोज्ने प्रतिक्रान्तिकारीहरूको सक्रियता बढेकाले त्यसलाई रोक्न खबरदारी गर्न दाहालले बेपत्ता परिवारजनसँग आग्रह गरे। बेपत्ता परिवारले आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्याकंन हुने उपाध्यक्ष मोहन वैद्यले बताए। प्रधानमन्त्री भट्टराईले पनि बेपत्ता खोजबिन आयोग बन्ने अन्तिम तयारी भइरहेको जानकारी गराएका थिए। आयोग शान्ति प्रक्रियाअन्तर्गत पर्ने भएकाले गठनको अन्तिम तयारी भएको उनले बताएका थिए। बेपत्ता परिवार सदस्यहरूले 'जनयुद्ध' र आन्दोलनमा खेलेको भूमिकालाई उच्च मूल्याकंन हुनुपर्ने माग गरेका थिए। संविधानमै बेपत्ता परिवारहरूको माग सम्बोधन हुनुपर्ने उनीहरूले गरेका थिए। बेपत्ता परिवारका सदस्यहरूका लागि शिक्षा, स्वास्थ्य रोजगारी अनिवार्य व्यवस्था गर्न उनीहरुले माग गरेका थिए।
No comments:
Post a Comment