News

Mar 10, 2012

जातीय संघीय राज्य अमान्यः केसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २८ - कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राज्यको पुनर्संरचना जातीय आधारमा नभई पहिचान र सामथ्र्यका आधारमा हुने बताएका छन् । प्रेस युनियन लमजुङद्वारा शनिबार बेसीसहरमा आयोजित पत्रकार भेटमा उनले जातीय आधारमा राज्यको पुनर्संरचना हुँदा जातीय सद्भाव बिग्रने भन्दै सबैको भावना समेट्ने गरी पहिचान र सामथ्र्यका आधारमा संघ बनाउनुपर्ने बताएका हुन् । उनले कांग्रेस संघीयताबाट एक कदम पनि पछि नहट्ने तर पहिलेका राजामहाराजले जस्तो जहाँ गयो त्यहीं राज्य दिन नसक्ने बताए । अग्राधिकारको कुराले एउटै जाति कुनै एक ठाउँमा पहिलो नागरिक र अर्काे ठाउँमा दोस्रो नागरिकको दर्जामा बस्नुपर्ने उनले बताए । 'लमजुङमा तमुलाई पहिलो नागरिक अनि काठमाडौंमा उही दोस्रो नागरिकको दर्जामा बस्ने भन्ने कुरा के न्यायसंगत हो ?', उनले प्रश्न गर्दै भने, 'हामी यस्ता लोकतान्त्रिक मान्यताको खिलापमा छौँ ।' यदि जातीय संघीयतामा जाने हो भने जनमत संग्रहमा जानुपर्ने उनले बताए । 'पहिचान र सामथ्र्यका आधारमा हुने संघीयताको खाका यही भनेर कोरेका छैनौं तर छलफल हुँदैछ,' उनले भने । पार्टीले ६ प्रान्त र १ केन्द्रको प्रस्ताव ल्याएको उनले बताए । माओवादीले हतियार मोह नत्यागेसम्म संविधान बन्न नसक्ने तर्क राख्दै उनले माओवादीले संविधानको कुरा गरेर शान्ति प्रक्रियालाई ओझेलमा पारेको आरोप लगाए । माओवादीले योग्यता बेगर सेनामा पदीय बखेडा निकालेर नेपाली सेनामा राजनीतिक भर्ना गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्री बाबुराम भट्टराईले पटकपटक समयावधि तोक्दै शान्ति प्रक्रिया टुंग्याउने प्रतिबद्धता गर्दै आए पनि ठोस प्रगति हुन नसकेको र संविधानसमेत बन्ने अवस्था नदेखिएकाले अब कांग्रेस नेतृत्वमा सहमतीय सरकार गठन गर्नुपर्ने उनले तर्क राखे ।

No comments: