लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २२ - राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिमा हस्ताक्षर गरेको भोलिपल्ट एमालेमा भने सरकारमा नजानेको बहुमत देखिएको छ । पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा नजाने पक्षमा बहुमत देखिएको एक केन्द्रीय सदस्यले बताए । ‘बाबुराम भट्टराई नेतृत्वको सरकारमा नजाने अडान पार्टीको पुरानै हो,’ ती केन्द्रीय सदस्यले भने, ‘अडानमा शीर्ष नेताहरु कसरी च्युत हुनुभयो थाहा छैन ।’बिहीबार राति भएको पाँच बुँदे सहमतिमा दुई दिनभित्र भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उल्लेख छ । बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको सहमतिमा एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेका छन् । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार केही केन्द्रीय सदस्यहरुले सहमतिका पछाडि विदेशी चलखेल रहेको भन्दै आपत्ति जनाएका थिए । ‘कतिपय केन्द्रीय सदस्यहरुले सहमतिमा विदेशी चलखेल पनि भएको हो कि भन्ने आशंका गर्नुभएको छ,’ उनले भने । भट्टराई सरकार मधेसी मोर्चासँगको चार बुँदे सहमतिमा बनेको भन्दै केन्द्रीय सदस्यहरुले उक्त सहमति कायमै रहेको अवस्थामा सरकारमा नजान सुझाव दिएका थिए । ‘सहमतिको पार्टीको विगतको निर्णयमा मेल खाने छैन भन्ने केन्द्रीय सदस्यहरुको भनाइ रह्यो,’ ज्ञवालीले भने । बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले पाँच बुँदे सहमतिबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए । उनीपक्षीय केन्द्रीय सदस्यहरुले भने सहमति बाध्यात्मक अवस्थामा भएको भन्दै पार्टी संविधानविरोधी कित्तामा उभिन नहुने बताएका छन् ।
No comments:
Post a Comment