News

Jun 6, 2012

हङकङका प्रमुखले भेटे नेपाली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २४ -हङकङका कार्यकारी प्रमुख चुनयिङ लियुङले नेपालीलगायत अल्पसंख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। सेन्ट्रलस्थित सरकारी कार्यालयमा मंगलबार भएको वार्तामा लियुङले शिक्षामा जोड दिएर अल्पसंख्यक समुदायलाई अवस्था सुधार गरिने बताए। दुई महिनअघि चार वर्षका लागि कार्यकारी प्रमुखमा निर्वाचित लियुङ जुलाई १ मा कार्यभार सम्हाल्नुअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गरिरहेका छन्। एक घन्टाको वार्तामा हङकङका नेपालीसहित भारतीय, पाकिस्तानी, बंगलादेशी र श्रीलंकाली समुदायका प्रतिनिधि सहभागी थिए। वार्तामा गएका चुरा थापा, कुलप्रसाद गुरुङ, बुद्धिबहादुर थापा, एमबि थापा, डेनी थापा बेइजिङसमर्थक हङकङको डेमोक्रेटीक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस (डिएबी) पार्टीमा आबद्ध नेपाली हुन्। पाँचैजना डिएबीको जातीय अल्पसंख्यक समितिका सदस्य हुन्। भारतीयबाहेक सबै आमन्त्रित सरकारसमर्थक डिएबीमा आबद्ध प्रतिनिधि हुन। बेइजिङनिकट मानिने लियुङ हङकङको डिएबी लगायत पार्टीको समर्थनमा कार्यकारी प्रमुख बनेका हुन्। विजयी भएपछि पहिलोपटक अल्पसंख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुअघि लियुङले समान अवसर आयोग पुगेर उनीहरूका समस्याबारे जानकारी लिएका थिए। लियुङलाई उद्धृत गर्दै चुराले भने, 'हङकङका ७० लाख नागरिक एउटै परिवारका सदस्य हौं, सबै मिलेर परिवार राम्रो बनाउनुपर्छ।' वार्तामा हङकङको लेजिस्लेटीभ काउन्सिलका अध्यक्ष चाङयोक सिंले उच्चस्तरीय जातीय अल्पसंख्यक आयोग स्थापना गर्न राखेको प्रस्तावमा नेपाली प्रतिनिधिले समर्थन गरे। सहभागी कुलप्रसादका अनुसार सिंले हङकङमा नेपाली क्लब स्थापनाका लागि पहल गर्न कार्यकारी प्रमुखलाई आग्रह गरे। 'नेपाली समुदायले लामो समयदेखि क्लब स्थापनाको माग गर्दै आएका छन्, यसलाई सरकारले गम्भीर रूपमा हेर्नुपर्छ,' सिंलाई उद्धृत गर्दै गुरुङले भने। सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरणपछि हङकङमा सरकारी रोजगारीका लागि चिनियाँ भाषा अनिवार्य गरिएपछि गैरचिनियाँ समुदाय अवसरबाट वञ्चित भएको गुनासो सहभागीले गरेका थिए। लियुङलाई लिखित अवधारणापत्र बुझाउँदै हङकङका अल्पसंख्यक समुदायको शिक्षामा विद्यावारिधि गरिरहेका चुराले अल्पसंख्यक समुदायलाई हेर्ने गरी शिक्षा मन्त्रालयमा छुट्टै ब्युरो स्थापना गर्न सुझाव दिए। ' समग्रमा सामाजिक समायोजनमा केन्द्रित भएर शैक्षिक नीति ल्याउन सुझाव दिएका हौं,' थापाले भने। नेपाली सहभागीले हङकङमा नेपालीले भोग्दै आएको भिसा समस्याको एजेण्डा पनि उठाएका थिए। कार्यकारी प्रमुख लीयुङले भेटवार्तामा उठेका एजेण्डाहरू अध्ययन गरी सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाएको सहभागीहरूले बताए।

No comments: