News

Jun 25, 2012

पार्टी खोल्न चौतर्फी दबाब छः आङकाजी शेर्पा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, असार ११ - नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जनजातिहरूको छुट्टै दल बनाउन देश विदेशबाट चर्को दबाब आएको जनाएका छन् । विभिन्न विकल्पहरूमध्येबाट प्रभावकारिता अध्ययन गरी छिट्टै निष्कर्षमा पुग्ने उनले बताए ।नेपाली आदिवासी जनजाति आन्दोलन र संविधानसभा विघटन विषयक जानकारी सभामा सहभागी हुन हङकङ आएका उनले उक्त कुरा बताएका हुन् । शेर्पासँगै एमाले पोलिटब्युरो सदस्य तथा आदिवासी जनजाति सभासदसभा (ककस) का संयोजक पृथ्वी सुब्बा गुरुङ समेत यहाँ आएका छन् । 'जनजातिहरूको छुट्टै पार्टी गठन गर्ने वा आ-आफ्नै विचारधारा अनुसार अहिलेकै पार्टीभित्रै रही हक अधिकारका लागि मोर्चाबन्दी गर्ने लगायतका मोडालिटीबारे हामीले छलफल चलाइरहेका छौँ,' नेपाली आदिवासी जनजाति महासंघ हङकङद्वारा याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, 'पार्टी भावनामा बगेर हतारमा खोल्ने कुरा होइन गंम्भीर छलफलपछि छिट्टै हुने राष्ट्रिय भेलाले यसको टुंगो लगाउने छ ।' सबै जनजाति एकजुट भए नयाँ बन्ने पार्टी राष्ट्रिय शक्तिको रुपमा उदाउने समेत उनले दाबी गरे । अहिलेका प्रमुख राजनीतिक दलहरू जनजातिकै मुद्दा उठाए पनि सत्तामा पुगेपछि त्यस्ता प्रतिबद्धता विर्सने गरेको उनको आरोप थियो । नेपालमा जातिय ध्रुबीकरण हुन नदिन मुख्य राजनीतिक दलहरू सचेत हुनुपर्ने बताउँदै महासचिव शेर्पाले आदिवासी जनजातिका मागमा गंम्भीर बन्न सुझाए । 'हामीले मुलुकमा सबै नागरिकको बरोबरी पहिचान, प्रतिनिधित्व र पहुँच चाहेका हौं', महासचिव शेर्पाले भने, 'गाई, कुकुर र कागका नाम बिदा दिइने नेपालमा आदिवासीले आफ्नो मौलिक चाडपर्व मनाउँदा बिदा पाउँदैनन् ।' जनजातिलाई अधिकार दिने कुरा आउनासाथ माओवादी चीनतिर, कांग्रेस भारततिर, एमाले भुईंतिर र बाँकी आकाशतिर र्फकने गरेको भन्दै उनले व्यगंसमेत गरे । 'हामी संविधानसभा व्युतोस भन्ने चाहन्छौं', निर्वाचनमा जान समेत तयार रहेको बताउँदै शेर्पाले भने, 'तर बाहिर जेसुकै भनेपनि माओवादी, कांग्रेस, एमाले लगायतका पार्टी कोही पनि चुनावमा जान तयार हुने छैनन् ।' संविधान सभाको अवसान गर्नेलाई जनताले चुनावमा दण्डित गर्ने सबैलाई डर रहेको उनको भनाइ थियो । जारी जनजाति आन्दोलनलाई विश्व शक्तिले विशेष महत्वका साथ हेरिरहेको उनले बताए । एमाले नेता पृथ्वी सुब्बा गुरुङले जनजातिहरूले जातिय राज्य नभई पहिचानसहितको लोकतान्त्रिक राज्य चाहेको धारणा राखे । जिम्मेवार नेताहरू समस्या समाधानतिर भन्दा षडयन्त्र र अन्योल सिर्जना गर्नेतर्फ लागेकाले संविधान सभा विघटन हुन पुगेको उनको भनाइ थियो । ' भोट माग्ने बेला कांग्रेस एमाले लगायतका दलले स्वीकार गरेका कुरापनि अस्वीकार गरे', नेता गुरुङले भने, 'तर त्यहाँ भित्रका पनि कृष्ण सिटौला, रामचन्द्र पौडेल र माधव नेपाल लगायतका नेताहरू हाम्रै पक्षमा छन् ।' प्रदेशको नाम पछि नामांकन गर्दा जातीय सदभाव भड्किन सक्ने बताउँदै गुरुङले यस्ता संवेदनशिल कुराहरूका छिनोफानो पहिले नै हुनुपर्ने बताए । संविधानले बहुभाषिक, बहुसांस्कृतिक भनेपनि अहिलेपनि नेपालमा एकात्मक संरचना हाबी रहेको उनको भनाइ थियो । 'हामीले कसैको अधिकार खोस्न चाहेका होइनौं, आफ्नो अधिकार मात्र मागेका हौं ।' नेपाली आदिवासी जनजाति महासंघ हङकङले जनजाति आन्दोलनलाई सफल पार्न संयुक्त सघर्ष सहयोग समिति गठन गरेको छ ।

No comments: